Sunday, August 24, 2014

एन.जि.ओ. संस्कृति र युवा


  • नानीमैया विष्ट


अहिले विशेष गरी हाम्रो गाउँठाउँमा सञ्चालन भइरहेका एन.जि.ओ.हरुले हरियो घाँस देखाएर दुध दुहुने काम गरिरहेका छन्। हाम्रातिर प्रायः जसो गाईभैसीलाई दुहुने बेलामा अगाडी हरियो घाँस हालिदिने चलन छ । यसको एक मात्र उदेश्य के हुन सक्छ भने, गाईभैसीको ध्यान घाँसतिर केन्द्रित होस्, दुध दुहुँदा लात्तिले नहानोस्  भन्ने नै होला । 
त्यस्तै केही एन.जि.ओ.बाहेक अधिकांश एन.जि.ओ.हरुले जातजाती, भाषाभाषी, लिंङ्ग, क्षेत्रको आधारमा पछाडी पारिएका मात्र होइन शोषणमा परेका नागरिकहरुको चेतनाको स्तर र गरिबीलाई रिर्पोट बनाएर हरियो घाँसको रुपमा आई.एन.जि.ओ.मा पेश गर्ने गरेका छन्। यतातिरका     धेरैजसो एन.जि.ओ.हरुले दलित, उत्पीडित, सिमान्तकृत, जनजाति, महिला लगायतकालाई भेला पार्ने र उपस्थितिमा सही गराउने गर्छन्। वर्षौदेखि विकासको मुलधारबाट बाहिर रहेका उनीहरु आफ्ना संवेदनशील मुद्दाहरुको बारेमा छलफल भनेपछि उत्साहित नहुने कुरै भएन । विकास, उन्नती र अधिकारका खोजीमा रहेका ती नागरिकहरुको भावनालाई मौकाको रुपमा लिँदै एन.जि.ओ.का कार्यकर्ताहरु निकै सक्रिय देखिन्छ । देख्दा लाग्छ, साँच्चै उनीहरुले कायपलट नै ल्याइदिनेछन्। निकै तामझामको साथ सजिने गर्छन्। एन.जि.ओ.को स्तर अनुसार साना(ठूला होटलहरुमा सहभागी हुन्छन् कार्यक्रममा कार्यपत्र पढेर सुनाइन्छ ।  भत्तादिएर घर पठाइन्छ । त्यसपछि के हुन्छ सहभागीहरुलाई थाहा हुँदैन । अनि, त्यो कार्यक्रमका साह्रै राम्रा र उपलब्धीमुलक जस्तो देखिने फोटो सहितका रिर्पोटहरु तयार हुन्छन् । साना एन.जि.ओ.ले ठूला एन.जि.ओ.लाई र ठूलाले आई.एन.जि.ओ.हरुलाई रिर्पोट पठाएर नेपाली रुपैया र डलर लिने काम गरिन्छ । कार्यक्रम अवधिभरका प्रशस्त नक्कली वीलहरु पनि तयार हुन्छन् ।
एउटा प्रसंग जोडौ( धादिङ, चितवन जिल्लामा जस्तै मकवानपुरमा पनि  सरकारले भन्ने गरेको सिमान्तकृत जाति अन्र्तगत पर्ने चेपाङ समुदायको बसोबास छ । विशेषगरी भौगोलिक कठिनाई भएको क्षेत्रमा बसोबास गर्ने उनीहरु आर्थिक, शैक्षिक अर्थात सबैहिसावले निक्कै पछाडी छन् । अहिलेसम्म पनि समाजको हरेक क्षेत्रको मुलधारमा उनीहरु आउन नसकिरहेको स्थिति छ । भोकमरी, अभावले जगडिएको उनीहरुको दैनिकी गिठ्ठा, भ्याकुर लगायत कन्दमुलमै बित्ने गर्छ। तर लोकतन्त्र आइसकेपछि भने उनीहरु त्यो अवस्थाबाट विस्तारै माथि उठ्नेक्रम जारी छ। अहिले त कतिपयले आफ्नो आर्थिक एवं शैक्षिक अवस्था सुधारिसकेका पनि छन् । यतिबेला मैले के प्रशङ्ग जोड्न खोजेको भने, करिव ७÷८ वर्षपहिले पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङहरुले एउटा संघर्ष समिति बनाएका थिए। उनीहरुले सार्वजनिक रुपमा विरोधका कार्यक्रमहरु पनि गरे । उनीहरुको भनाई थियो–“केही व्यक्ति र एन.जि.ओ.ले चेपाङ समुदायकै केही घरधुरीलाई वनकरिया बनाएर छुट्टै जाती बनाउने काम गरिँदैछ । हाम्रो भाषा, लिपी, संस्कृति, रितीरिवाज सबै एउटै हो । हाम्रो पुर्खा एउटै हो । विश्वकै नयाँ जाती उत्पादन भएको देखाएर पैसा कमाउने र राजनीति गर्न खोजेकोप्रति हाम्रो आपत्ति छ । हामीसँग यसका लागि थुप्रै प्रमाणहरु छन् । ” उनीहरु कराईरहेपनि अन्ततः शक्ति र पहुँचको कारण एउटै बाबुका सन्तानहरु पनि कोही चेपाङ भए कोही वनकरिया भए । वनकरिया भन्ने जाति उत्पादन गरिदिए वापत राजनीतिक अनुकुल पारेर खानेले टन्न खाए । त्यसो त संघसंस्थाहरुले पनि वनकरिया भन्ने नौलो समुदाय बीचमा नयाँ स्वाद पाए । यो त मेरै ठाउँको मेरै आँखा अगाडीको कुरा भयो । यस्ता काम कति ठाउँ कति भएको छ, त्यो आफैमा खोजीको विषय रहँला ।  
वर्षायामको च्याउसरी उम्रिएका संघसंस्था अर्थात एन.जि.ओ, आइ.एन.जि.ओ.हरु मध्ये दुईचारवटाले आफ्नो उदेश्य र विधानमा रही समाज सेवी ढंगले काम गरिरहेको छ । कतिपय लुकेर बसेका सवालहरुलाई राष्टिूयकरण समेत गर्न सहयोग गरेको छ । तर मलाई लाग्छ, नब्बेप्रतिशत भन्दा बढी एन.जि.ओ.हरु आफ्ना नातागोता, घरपरिवार मिलेर संचालन गरेका छन् र काम      गरेको देखाएर खाइरहेका छन् । दाताको राम्रो वा नराम्रो जस्तोसुकै उदेश्य भएपनि काम गर्न तयार भएका छन्। दाताको निगाह रहुन्जेल भौतिक विलासितामा रमाउने र  त्यसपछि निरास हुने युवाहरु निकै भेटिन थालेका छन् । युवाका जोस्, जाँगर, प्रतिबद्धता, इमान्दारिता र जागरुकपनालाई नै प्यारालाइसिस् बनाइदिने हुनाले यो चिन्ताको विषय हो । अब, जति पनि सचेत, इमान्दार र स्वाभिमानी युवाहरु छन्, उनीहरु आफैंले नै आफ्नो क्षमता, साधन, स्रोत र दिर्घकालीन उदेश्य राखेर आफ्नै ठाउँमा काम गर्न तयार हुनुपर्छ र एन.जि.ओ. संस्कृतिबाट टाँढै रहनुपर्छ ।

No comments:

Post a Comment