Thursday, September 4, 2014

सम्पादकीय 
 बजार अनुगमनको आवश्यकता 
 नयाँ आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेट भाषणसँगै व्यापारीले बृद्धि गरेको मूल्यले ढाड सेकिरहेको आम सर्वसाधरणको निम्ति फेरी चाडपर्व नजिकिँदै गर्दा प्रायजसो उपभोग्य वस्तुको भाउ बढेको गुनासो सर्वसाधरण हरुले गरिरहेका छन्। विशेषगरी हरियो तरकारीमा अप्रत्यासित रुपमा मूल्य बृद्धि भएपछि सानातिना खुद्रा व्यापारी र सर्वसाधरण उपभोक्ताहरु आत्तिएका छन् । तरकारीमा आलु, कोभी, गोलभेडा, घिरौला, परवल लगायत अन्य तरकारीहरुमा ह्वात्तै भाउ बढेको पाइएको छ । दिनभरी कमाएर बेलुका किनेर खानुपर्ने मानिसको लागि दिनभरी कमाएको पैसाले छाक टार्ने तरकारी समेत आउन मुश्किल भइसकेको हुनाले यसरी अप्रत्यासित रुपमा मूल्य बृद्धि हुनका कारणहरु के–के हुन सक्लान् भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च लगायत त्यससँग सरोकार राख्नेहरुले अनुसन्धान एवं खोजी गर्न जरुरी छ । उत्पादन गर्ने किसानले साँच्चै प्राप्त गर्ने मूल्य विचौलियाले लिने र उपभोक्ताले तिर्ने मूल्यको अनुपात कस्तो छ भन्ने विषयमा पनि खोजी गर्न जरुरी छ । यस अघि जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगमन गरिरहेको थियो । उक्त कार्य सकारात्मक भइको सबैले महशुस गरेकै थिए । अब झन् चाडपर्व नजिकिदा उपभोक्तालाई मार्का पर्ने गरी व्यापारी हरुले मूल्य बृद्धि गर्न सक्ने सम्भावना बढी रहेको कारण अनुगमनलाई तिव्रता दिन जरुरी छ । आफ्नो व्यापारिक नैतिकतामा रहेर व्यापार गर्ने व्यापारिहरुको निम्ति अनुगमनले फरक पार्दैन तर जो कालाबजारी गर्छन् उनीहरुका निम्ति अनुगमनलाई शसक्त र तिव्रता दिन जरुरी छ ।

समाचार
राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा छलफल
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बिचमा राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा केन्द्रित रहेर छलफल भएको छ । 
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आग्रहमा संविधानसभा सचिवालय सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा दलगत धारणा प्रस्तुत भई त्यसमाथि मंगलवार छलफल चलेको थियो । 
प्रस्तावित नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने, नाम के राख्ने भन्ने विषयमा दलहरूबीच बहस र छलफल चल्दै आएको छ ।
बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा प्रमुख तीन दलले आ–आफ्नो धारणा राखेर सहमतिका लागि छलफल चलाएको जानकारी दिनुभयो।
“सकेसम्म कार्यतालिका बमोजिम २१ गतेसम्ममा मिलाउँछाँै, सकिएन भने संविधानसभामा पठाउँछौँ” –उहाँले भन्नुभयो । 
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्य पुनःसंरचनाको असाध्यै महत्वपूर्ण पक्ष सङ्घीय संरचनाको विषयलाई कसरी हल गर्ने भने पाटोबाट दलहरूबीच छलफल भएको प्रतिक्रिया दिनुभयो ।
“शासकीय स्वरुपबारे दलहरूले दलगत अवधारणा प्रस्तुत गर्नुका साथै हिजोको पार्टीगत अडानभन्दा माथि उठेर अघिल्लो संविधानसभादेखि आजसम्म आइपुग्दा भएका छलफल, सहमति र बुझेका विषयलाई समेत खुल्ला रुपमा छलफलमा ल्याइएको छ”–उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानका महत्वपूर्ण दुईवटा अन्तर्वस्तु राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा तीन प्रमुख दलबीच गहन ढङ्गबाट छलफल गरी एक–एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो–तोकिएकै समयसीमाभित्र रही संविधानका अन्तर्वस्तुमा सहमति गरेर जानुपर्छ भन्नेमा दलहरूबीच एउटै मत छ, त्यसका लागि साझा बिन्दुमा पुग्ने ढङ्गबाट दलहरूबीच छलफल भइरहेको छ ।

आफ्नै बाबुआमा दृष्ट भएपछि
हेटौंडा । आफ्नो जन्म दिने बुबाआमा नै आफ्नो निम्ति शत्रु भएपछि आफन्तको शरणमा पुग्नु परेको छ १३ वर्षीय बालिका। 
भुटनदेवीरोडमा बुबा आमाको दुब्र्यवहार सहदै आएकी १३ वर्षीय बालिकालाइ आफ्नै माइजुकी जिम्मा लगाइएको छ। विगत ४ दिन अघि बालिकालाइ  लामो समय देखि दुब्र्यवहार गनर्,े निर्घात पिट्ने र खानसम्म नदिने गरेको भन्ने सुचनाको आधारमा  बालिकालाई बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान मकवानपुर शाखा (सिजप) र किशोरशक्ति नागरिक समाज संजाल (ग्याप्सन मकवानपरु) को सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयकमा जिल्ला बालकल्याणका प्रतिनिधि दुर्गा घिमिरे, बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली, हिमराइट्का सोमबहादुर स्याङतान, बालकल्याण समाजका कमल फुयाँल, स्थानीय ब्यक्ति उर्मिला लामा लगायतका संस्थाका ब्यक्तिहरुको रोहवरमा निज बालिकालाइ माइजुको जिम्मा लगाइएको हो । बालिकाको नाममा बैंक खाता खोल्ने र सो खातामा बालिकाको दाजुले प्रतिमहिना तीनहजारका दरले जम्मा गर्ने, बालिको संरक्षणको बारेमा आमा र माइजुले प्रत्येक महिनामा प्रतिवेदन जिल्ला बालकल्याण समिति, जिल्ला प्रहरी कार्यालय र बालहेल्पलाइनमा बुझाउनु पर्ने, बालिकाको अध्ययनमा कुनै बाधा नपुर्याइने, बुबाआमाले विगतमा भएका गल्ती कम्जोरीलाइ आत्मालोचना गर्ने, आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने र विचमा समस्या आएमा सम्बन्धि निकायमा तुरुन्त खवर गर्ने गरि सहमति भएको बालहेल्पलाइनले जनाएको छ ।

एउटै घट्ना किन दोहोरिन्छ ?
हेटौडा । मकवानपुरको गढी गाविस वडा नं ६ मा रहेको भानु उच्च मावि नजिकैको पोलमा राखिएको नेपाल विद्युत प्राधिकरणको टूान्समिटर चोरी भएको छ । यस अघि पनि उक्त घट्ना भइसकेकोले पुनः घट्ना दोहोरिनुलाई सम्बन्धित निकायले यसको खोजी गर्न जरुरी छ । 
ट्रान्समिटर चोरी भएसँगै गढी ६, ८ लगायतका गाविसमा रहेका बासिन्दाहरु सोमबारदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। सोमबार बेलुका अज्ञात समुहले टून्समिटर चोरेको स्थानीय बासिन्दाले बताएपनि प्रहरी प्रशासन र नेपाल विद्युत प्राधिकरणले अब पनि अज्ञात समूह भनेर चुप बस्न मिल्दैन । 
एक वर्ष पनि बित्न नपाउँदै एकै ठाँउबाट दुई वटा ट्रान्समिटर चोरी भएको हो । यो ट्रान्समिटर चोरी भएसँगै मकवानपुरको गढी गाविसमा मात्रै एक वर्षभित्र ४ वटा ट्रान्समिटर चोरी भएको छ । 
ट्रान्समिटरभित्र हुने तामा तथा अन्य धातुहरु विक्री गर्दा धेरै पैसा आउने भएकाले एउटा गिरोहलेनै यो ट्रान्समिटर चोरी गरेको हुनसक्ने स्थानियले बताएका छन् । यसैबीच प्रहरी ले चोर पत्ता लगाउन विशेष संयन्त्र परिचालन गरेकाले २–३ दिन भित्रै घटनाको दोषी पत्ता लगाउने मकवानपुरका प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए । 
यता बत्ती नहुदाँ अध्याँरोमा बस्न बाध्य भएका गढी गाविसका स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिहरु तत्काल ट्रान्समिटर उपलब्ध गराई सहज बिजुली प्रबाहका लागि विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउन बुधबार प्राधिकरण पुगेका थिए । प्राधिकरण मकवानपुरका प्रमुखले आफुहरुको मागको बेवास्ता गरेको र सकारात्मक प्रतिक्रिया नदिएको राप्रपा नेपालका स्थानीय नेता तथा स्थानीयबासी कृष्ण बिडारीले बताउनुभयो । गढी गाविसमा विद्युत सेवा बन्द हुदा स्थानीयले गरेको कुखुरा पालन , मिल तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएको भन्दै तत्काल नयाँ टूान्समिटर ल्याएर विद्युत सुचारु गर्न स्थानीयले प्राधिकरणसँग माग गरेका छन् ।

राजमार्गमा खानाको मूल्य एउटै पारिने प्रयास
हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत् विभिन्न स्थानमा सञ्चालित होटलहरुले गुणस्तरहीन र महंगो खाना बेचेर यात्रु उपभोक्ताहरुलाई ठगिरहेको गुनासो आइरहेका बेला व्यवसायीले लाइन होटलहरुको मूल्य र गुणस्तरमा एकरुपता कायम गर्ने प्रयास थालिएको छ । राजमार्ग क्षेत्रमा पर्ने जिल्लाका होटल व्यवसायीहरुको छाता संस्था होटल एसोसिएसनहरुले एक आपसमा समन्वय गरी सबै लाइन होटलमा मूल्य र गुणस्तरमा एकरुपताको प्रयास गरेका हुन् । 
यस्तो प्रयासस्वरुप चितवन होटल एसोसिएसनले छिमेकी जिल्लाहरुसंग समन्वय गर्दै खानाको गुणस्तर र मूल्यमा एकरुपता ल्याउने प्रयास थालेको हो । प्रयास सफल भए रौतहटको चन्द्रनिगाहपुरदेखि बुटवलहुँदै पोखरासम्मका सबै लाइन होटलहरुको खानामा समान मूल्य र गुणस्तर कायम हुनेछ ।
केही दिनअघि हेटौंडा आएको होटल एसोसिएसन चितवनका पदाधिकारीसंगको छलफलपश्चात् होटल एसोसिएसन मकवानपुरले यस अभियानलाई मूर्तरुप दिन मंगलबार  हाइवेमा पर्ने हेटौंडाको थानाभ¥याड्डदेखि लोथरसम्मका क्षेत्रमा पर्ने लाइन होटलहरुको अनुगमन गरेको छ ।

     सहकारीको नयाँ योजना 
हेटौडा । हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालले नयाँ योजना अघि सारेको छ ।  विगत ६ वर्षदेखि विशेषज्ञ सेवा सहित विविध स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको अस्पतालले मकवानपुरमा रहेका विभिन्न सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई समेत सहुलियत रुपमा स्वस्थ्य सेवा प्रदान गर्ने योजना ल्याएको जनाएको छ । जिल्लामा रहेका बिभिन्न सहकारिहरुलाई १० हजार आबद्धता शुल्क लिई उक्त सेवामा समाबेश गराउने योजना रहेको  सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारि दिनुभयो ।
मकवानपुर जिल्लामा रहेका बिभिन्न बृद्धबृद्धा र अनाथलाई निशुल्क उपचार गर्दै आईरहेको यस अस्पतालले नयाँ योजना थप गरेको हो। सहकारी संस्थाद्वारा वि.सं. २०६५ सालमा स्थापना भएका उक्त अस्पतालले सहुलियत दरमा औषधी बिक्रि वितरण सेवा, स्त्री बाल रोग, सम्बन्धी विशेषज्ञ सेवा सहित चौविसै घण्टा एम्बुलेन्स सेवाका साथै अन्य सेवाहरु पनि सहुलियत दरमा प्रदान गरिहरहेको छ। सहकारीमा आबद्ध भैसकेपछि सहकारीका सेयर सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुलाई समेत छुटदिने व्यवस्था मिलाउने तयारी भैरहेको महर्जनले जानकारी दिनुभयो । सहकारीमा आबद्ध भैसकेपछि अस्पतालमा उपलब्ध हुने सेवा सुविधामा पनि विशेष रुपमा छुट दिने गरी नयाँ योजना ल्याईएको र यसलाई दिगो बनाउनको लागी पहल भैरहेको पनि सहकारीका अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।


   परिवारमा पुर्नमिलन 
हेटौडा । सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन साँचो जीवननिर्माण अभियानद्वारा सञ्चालित मानवसेवा आश्रमले थप एक जानालाई परिवारमा पुर्नमिलन गरेको छ। ७१ साल जेष्ठ २७ गते चितवनको गडेशस्थान मन्दिरबाट उद्वार गरिएकी अनु श्रेष्ठलाई परिवारमा पुर्नस्थापित             गराईएको हो। अनुलाई पर्सा जिल्ला स्थित निर्मल वस्ती गासिव वडा नं. ३  बर्मानगरमा काका नर बा. श्रेष्ठलाई जिम्मा लगाईएको हो। काकाको अनुसार ७० साल फागुनबाट अनु परिवारबाट सम्पर्क विहिन भएकी थिईन । अनुको आमा पनि लामो समयदेखि मानसिक रुपमा अस्वस्थ्य छिन, बुबाले अनुकी आमा पछि पनि ३ जानासंग विवाह गरिसकेका छन्। आमा असक्षम भएको तथा बुबाले पनि नहेरेपछि अनु र अनुको आमा दुवैलाई काका नर बा. श्रेष्ठले संरक्षण दिदै आएका रहेछन। लामो समयदेखि हराएकी अनुलाई खोज्न धेरै प्रयास गरेपनि नभेटीएकी अनुलाई एक्कासी घरमै पाउँदा खुसिको सिमा नरहेको काकी ज्ञानुमाया श्रेष्ठले बताईन्।

बालश्रमिकको शिक्षालाई सहयोग
हेटौडा । विशेषतः नगर क्षेत्रमा रहेका आर्थिक विपन्न, असहाय तथा निकृष्ट श्रममा रहेका बालबालिकालाई मुक्त गरी शिक्षा तथा शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले गठित संस्थालाई विदेशिएका नेपालीहरुले सहयोग गरेका छन् ।
कतारमा वैदेशिक रोजगारीबाट फर्किएका हेटौंडाका युवा बिजय श्रेष्ठले पिता श्यामबहादुरको स्मृतिमा २० हजार रुपियाँ र हेटौंडा–१० राप्तीरोडस्थित राजक शाहीले पाँच हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच जीवन कल्याण तथा सहजीकरण संस्था अध्यक्ष रवीन्द्र शाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

घरेलु मदिरा नष्ट 
हेटौडा । अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण जस्ता कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बिभिन्न मितिमा उक्त मदिरा नियन्त्रणमा लिएको थियो । हेटौडा नगर एरियाबाट चेक जांचको क्रममा बरामद भएको अबैध घरेलु मदिरा १२०० लि. सोमवारे राप्ति खोलाको बगरमा स्थानिय पत्रकार एवं बुद्धिजीवीको सहभागितामा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

  ६ विधामा पुरस्कार प्रदान
हेटौडा । बिभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले मंगलबार छ वटा बिधामा पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको दशौं बार्षिक साधारणसभाको अवसरमा संगीत, समाजसेवा, कला, शिक्षा आदि क्षेत्रमा योगदान पु¥याएका छ जना व्यक्तित्वलाई पुरस्कृत गरिएकोे हो। प्रतिष्ठानले तुल्सीमाया शिवकुमारी नारी सृजनशील पुरस्कार २०७० बाट मकवानपुर महिला समूहकी अध्यक्ष तथा एचआईभी संक्रमित भएर पनि समाजमा एचआईभी विरुद्ध सचेतना जगाउँदै आएकी ईश्वरी बानियाँलाई दश हजार एक रुपियाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ। छहजार ६१ रुपियाँ राशिको भीम वाल प्रतिभा पुरस्कार २०७० हेटौंडा–४ की बिनिशा लामालाई प्रदान गरिएको छ । प्रतिष्ठानले पन्ध्र हजार एक रुपियाँ राशिको शीला नारी संगीत पुरस्कार २०७१ हेनपा–५ निवासी गायिका अस्मिता खड्कालाई प्रदान गरिएको छ ।पच्चीस हजार एक रुपियाँ        राशिको हर्षनर बज्रचार्य स्मृति पुरस्कार २०७१ मकवानपुरका बरिष्ठ शिक्षाविद् धर्मदत्त न्यौपानेलाई प्रदान गरिएको छ। 
 
 गैसस महासंघद्वारा ज्ञापनपत्र
हेटौडा। गैरसरकारी संस्था महासंघ मकवानपुरले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत सामाजिक परिचालन कार्यक्रमका लागि संस्था छनोट प्रक्रिया स्थगन माग गर्दै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको छ। 
आइतबार गैसस मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको नेतृत्वमा गएको गैससकर्मीहरुको टोलीले हेटौंडा नगरपालिका र जिल्ला विकास समिति मकवानपुरलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सामाजिक परिचालन कार्यक्रम संचालनका लागि आवश्यक सामाजिक परिचालकहरुको छनोट, नियुक्ति तथा सेवा सुविधा र पारिश्रमिक भुक्तानी प्रक्रियाका लागि गरिएको व्यवस्था र यसले सिर्जना गर्ने अनुत्तरदायी अवस्थाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले एलजीसीडीपी सञ्चालनका  लागि लागू गरेको सामाजिक परिचालन कार्यविधि २०७१ मा राखिएका प्रावधानहरुले साझेदार गैससहरुको स्वायत्तता, स्वाधिनता र निर्णय अधिकार माथि हस्तक्षेप हुने महासंघले ठहर गरेको छ। 

No comments:

Post a Comment