Thursday, September 4, 2014

सम्पादकीय 
 बजार अनुगमनको आवश्यकता 
 नयाँ आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेट भाषणसँगै व्यापारीले बृद्धि गरेको मूल्यले ढाड सेकिरहेको आम सर्वसाधरणको निम्ति फेरी चाडपर्व नजिकिँदै गर्दा प्रायजसो उपभोग्य वस्तुको भाउ बढेको गुनासो सर्वसाधरण हरुले गरिरहेका छन्। विशेषगरी हरियो तरकारीमा अप्रत्यासित रुपमा मूल्य बृद्धि भएपछि सानातिना खुद्रा व्यापारी र सर्वसाधरण उपभोक्ताहरु आत्तिएका छन् । तरकारीमा आलु, कोभी, गोलभेडा, घिरौला, परवल लगायत अन्य तरकारीहरुमा ह्वात्तै भाउ बढेको पाइएको छ । दिनभरी कमाएर बेलुका किनेर खानुपर्ने मानिसको लागि दिनभरी कमाएको पैसाले छाक टार्ने तरकारी समेत आउन मुश्किल भइसकेको हुनाले यसरी अप्रत्यासित रुपमा मूल्य बृद्धि हुनका कारणहरु के–के हुन सक्लान् भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च लगायत त्यससँग सरोकार राख्नेहरुले अनुसन्धान एवं खोजी गर्न जरुरी छ । उत्पादन गर्ने किसानले साँच्चै प्राप्त गर्ने मूल्य विचौलियाले लिने र उपभोक्ताले तिर्ने मूल्यको अनुपात कस्तो छ भन्ने विषयमा पनि खोजी गर्न जरुरी छ । यस अघि जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगमन गरिरहेको थियो । उक्त कार्य सकारात्मक भइको सबैले महशुस गरेकै थिए । अब झन् चाडपर्व नजिकिदा उपभोक्तालाई मार्का पर्ने गरी व्यापारी हरुले मूल्य बृद्धि गर्न सक्ने सम्भावना बढी रहेको कारण अनुगमनलाई तिव्रता दिन जरुरी छ । आफ्नो व्यापारिक नैतिकतामा रहेर व्यापार गर्ने व्यापारिहरुको निम्ति अनुगमनले फरक पार्दैन तर जो कालाबजारी गर्छन् उनीहरुका निम्ति अनुगमनलाई शसक्त र तिव्रता दिन जरुरी छ ।

समाचार
राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा छलफल
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बिचमा राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा केन्द्रित रहेर छलफल भएको छ । 
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आग्रहमा संविधानसभा सचिवालय सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा दलगत धारणा प्रस्तुत भई त्यसमाथि मंगलवार छलफल चलेको थियो । 
प्रस्तावित नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने, नाम के राख्ने भन्ने विषयमा दलहरूबीच बहस र छलफल चल्दै आएको छ ।
बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा प्रमुख तीन दलले आ–आफ्नो धारणा राखेर सहमतिका लागि छलफल चलाएको जानकारी दिनुभयो।
“सकेसम्म कार्यतालिका बमोजिम २१ गतेसम्ममा मिलाउँछाँै, सकिएन भने संविधानसभामा पठाउँछौँ” –उहाँले भन्नुभयो । 
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्य पुनःसंरचनाको असाध्यै महत्वपूर्ण पक्ष सङ्घीय संरचनाको विषयलाई कसरी हल गर्ने भने पाटोबाट दलहरूबीच छलफल भएको प्रतिक्रिया दिनुभयो ।
“शासकीय स्वरुपबारे दलहरूले दलगत अवधारणा प्रस्तुत गर्नुका साथै हिजोको पार्टीगत अडानभन्दा माथि उठेर अघिल्लो संविधानसभादेखि आजसम्म आइपुग्दा भएका छलफल, सहमति र बुझेका विषयलाई समेत खुल्ला रुपमा छलफलमा ल्याइएको छ”–उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानका महत्वपूर्ण दुईवटा अन्तर्वस्तु राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा तीन प्रमुख दलबीच गहन ढङ्गबाट छलफल गरी एक–एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो–तोकिएकै समयसीमाभित्र रही संविधानका अन्तर्वस्तुमा सहमति गरेर जानुपर्छ भन्नेमा दलहरूबीच एउटै मत छ, त्यसका लागि साझा बिन्दुमा पुग्ने ढङ्गबाट दलहरूबीच छलफल भइरहेको छ ।

आफ्नै बाबुआमा दृष्ट भएपछि
हेटौंडा । आफ्नो जन्म दिने बुबाआमा नै आफ्नो निम्ति शत्रु भएपछि आफन्तको शरणमा पुग्नु परेको छ १३ वर्षीय बालिका। 
भुटनदेवीरोडमा बुबा आमाको दुब्र्यवहार सहदै आएकी १३ वर्षीय बालिकालाइ आफ्नै माइजुकी जिम्मा लगाइएको छ। विगत ४ दिन अघि बालिकालाइ  लामो समय देखि दुब्र्यवहार गनर्,े निर्घात पिट्ने र खानसम्म नदिने गरेको भन्ने सुचनाको आधारमा  बालिकालाई बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान मकवानपुर शाखा (सिजप) र किशोरशक्ति नागरिक समाज संजाल (ग्याप्सन मकवानपरु) को सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयकमा जिल्ला बालकल्याणका प्रतिनिधि दुर्गा घिमिरे, बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली, हिमराइट्का सोमबहादुर स्याङतान, बालकल्याण समाजका कमल फुयाँल, स्थानीय ब्यक्ति उर्मिला लामा लगायतका संस्थाका ब्यक्तिहरुको रोहवरमा निज बालिकालाइ माइजुको जिम्मा लगाइएको हो । बालिकाको नाममा बैंक खाता खोल्ने र सो खातामा बालिकाको दाजुले प्रतिमहिना तीनहजारका दरले जम्मा गर्ने, बालिको संरक्षणको बारेमा आमा र माइजुले प्रत्येक महिनामा प्रतिवेदन जिल्ला बालकल्याण समिति, जिल्ला प्रहरी कार्यालय र बालहेल्पलाइनमा बुझाउनु पर्ने, बालिकाको अध्ययनमा कुनै बाधा नपुर्याइने, बुबाआमाले विगतमा भएका गल्ती कम्जोरीलाइ आत्मालोचना गर्ने, आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने र विचमा समस्या आएमा सम्बन्धि निकायमा तुरुन्त खवर गर्ने गरि सहमति भएको बालहेल्पलाइनले जनाएको छ ।

एउटै घट्ना किन दोहोरिन्छ ?
हेटौडा । मकवानपुरको गढी गाविस वडा नं ६ मा रहेको भानु उच्च मावि नजिकैको पोलमा राखिएको नेपाल विद्युत प्राधिकरणको टूान्समिटर चोरी भएको छ । यस अघि पनि उक्त घट्ना भइसकेकोले पुनः घट्ना दोहोरिनुलाई सम्बन्धित निकायले यसको खोजी गर्न जरुरी छ । 
ट्रान्समिटर चोरी भएसँगै गढी ६, ८ लगायतका गाविसमा रहेका बासिन्दाहरु सोमबारदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। सोमबार बेलुका अज्ञात समुहले टून्समिटर चोरेको स्थानीय बासिन्दाले बताएपनि प्रहरी प्रशासन र नेपाल विद्युत प्राधिकरणले अब पनि अज्ञात समूह भनेर चुप बस्न मिल्दैन । 
एक वर्ष पनि बित्न नपाउँदै एकै ठाँउबाट दुई वटा ट्रान्समिटर चोरी भएको हो । यो ट्रान्समिटर चोरी भएसँगै मकवानपुरको गढी गाविसमा मात्रै एक वर्षभित्र ४ वटा ट्रान्समिटर चोरी भएको छ । 
ट्रान्समिटरभित्र हुने तामा तथा अन्य धातुहरु विक्री गर्दा धेरै पैसा आउने भएकाले एउटा गिरोहलेनै यो ट्रान्समिटर चोरी गरेको हुनसक्ने स्थानियले बताएका छन् । यसैबीच प्रहरी ले चोर पत्ता लगाउन विशेष संयन्त्र परिचालन गरेकाले २–३ दिन भित्रै घटनाको दोषी पत्ता लगाउने मकवानपुरका प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए । 
यता बत्ती नहुदाँ अध्याँरोमा बस्न बाध्य भएका गढी गाविसका स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिहरु तत्काल ट्रान्समिटर उपलब्ध गराई सहज बिजुली प्रबाहका लागि विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउन बुधबार प्राधिकरण पुगेका थिए । प्राधिकरण मकवानपुरका प्रमुखले आफुहरुको मागको बेवास्ता गरेको र सकारात्मक प्रतिक्रिया नदिएको राप्रपा नेपालका स्थानीय नेता तथा स्थानीयबासी कृष्ण बिडारीले बताउनुभयो । गढी गाविसमा विद्युत सेवा बन्द हुदा स्थानीयले गरेको कुखुरा पालन , मिल तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएको भन्दै तत्काल नयाँ टूान्समिटर ल्याएर विद्युत सुचारु गर्न स्थानीयले प्राधिकरणसँग माग गरेका छन् ।

राजमार्गमा खानाको मूल्य एउटै पारिने प्रयास
हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत् विभिन्न स्थानमा सञ्चालित होटलहरुले गुणस्तरहीन र महंगो खाना बेचेर यात्रु उपभोक्ताहरुलाई ठगिरहेको गुनासो आइरहेका बेला व्यवसायीले लाइन होटलहरुको मूल्य र गुणस्तरमा एकरुपता कायम गर्ने प्रयास थालिएको छ । राजमार्ग क्षेत्रमा पर्ने जिल्लाका होटल व्यवसायीहरुको छाता संस्था होटल एसोसिएसनहरुले एक आपसमा समन्वय गरी सबै लाइन होटलमा मूल्य र गुणस्तरमा एकरुपताको प्रयास गरेका हुन् । 
यस्तो प्रयासस्वरुप चितवन होटल एसोसिएसनले छिमेकी जिल्लाहरुसंग समन्वय गर्दै खानाको गुणस्तर र मूल्यमा एकरुपता ल्याउने प्रयास थालेको हो । प्रयास सफल भए रौतहटको चन्द्रनिगाहपुरदेखि बुटवलहुँदै पोखरासम्मका सबै लाइन होटलहरुको खानामा समान मूल्य र गुणस्तर कायम हुनेछ ।
केही दिनअघि हेटौंडा आएको होटल एसोसिएसन चितवनका पदाधिकारीसंगको छलफलपश्चात् होटल एसोसिएसन मकवानपुरले यस अभियानलाई मूर्तरुप दिन मंगलबार  हाइवेमा पर्ने हेटौंडाको थानाभ¥याड्डदेखि लोथरसम्मका क्षेत्रमा पर्ने लाइन होटलहरुको अनुगमन गरेको छ ।

     सहकारीको नयाँ योजना 
हेटौडा । हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालले नयाँ योजना अघि सारेको छ ।  विगत ६ वर्षदेखि विशेषज्ञ सेवा सहित विविध स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको अस्पतालले मकवानपुरमा रहेका विभिन्न सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई समेत सहुलियत रुपमा स्वस्थ्य सेवा प्रदान गर्ने योजना ल्याएको जनाएको छ । जिल्लामा रहेका बिभिन्न सहकारिहरुलाई १० हजार आबद्धता शुल्क लिई उक्त सेवामा समाबेश गराउने योजना रहेको  सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारि दिनुभयो ।
मकवानपुर जिल्लामा रहेका बिभिन्न बृद्धबृद्धा र अनाथलाई निशुल्क उपचार गर्दै आईरहेको यस अस्पतालले नयाँ योजना थप गरेको हो। सहकारी संस्थाद्वारा वि.सं. २०६५ सालमा स्थापना भएका उक्त अस्पतालले सहुलियत दरमा औषधी बिक्रि वितरण सेवा, स्त्री बाल रोग, सम्बन्धी विशेषज्ञ सेवा सहित चौविसै घण्टा एम्बुलेन्स सेवाका साथै अन्य सेवाहरु पनि सहुलियत दरमा प्रदान गरिहरहेको छ। सहकारीमा आबद्ध भैसकेपछि सहकारीका सेयर सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुलाई समेत छुटदिने व्यवस्था मिलाउने तयारी भैरहेको महर्जनले जानकारी दिनुभयो । सहकारीमा आबद्ध भैसकेपछि अस्पतालमा उपलब्ध हुने सेवा सुविधामा पनि विशेष रुपमा छुट दिने गरी नयाँ योजना ल्याईएको र यसलाई दिगो बनाउनको लागी पहल भैरहेको पनि सहकारीका अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।


   परिवारमा पुर्नमिलन 
हेटौडा । सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन साँचो जीवननिर्माण अभियानद्वारा सञ्चालित मानवसेवा आश्रमले थप एक जानालाई परिवारमा पुर्नमिलन गरेको छ। ७१ साल जेष्ठ २७ गते चितवनको गडेशस्थान मन्दिरबाट उद्वार गरिएकी अनु श्रेष्ठलाई परिवारमा पुर्नस्थापित             गराईएको हो। अनुलाई पर्सा जिल्ला स्थित निर्मल वस्ती गासिव वडा नं. ३  बर्मानगरमा काका नर बा. श्रेष्ठलाई जिम्मा लगाईएको हो। काकाको अनुसार ७० साल फागुनबाट अनु परिवारबाट सम्पर्क विहिन भएकी थिईन । अनुको आमा पनि लामो समयदेखि मानसिक रुपमा अस्वस्थ्य छिन, बुबाले अनुकी आमा पछि पनि ३ जानासंग विवाह गरिसकेका छन्। आमा असक्षम भएको तथा बुबाले पनि नहेरेपछि अनु र अनुको आमा दुवैलाई काका नर बा. श्रेष्ठले संरक्षण दिदै आएका रहेछन। लामो समयदेखि हराएकी अनुलाई खोज्न धेरै प्रयास गरेपनि नभेटीएकी अनुलाई एक्कासी घरमै पाउँदा खुसिको सिमा नरहेको काकी ज्ञानुमाया श्रेष्ठले बताईन्।

बालश्रमिकको शिक्षालाई सहयोग
हेटौडा । विशेषतः नगर क्षेत्रमा रहेका आर्थिक विपन्न, असहाय तथा निकृष्ट श्रममा रहेका बालबालिकालाई मुक्त गरी शिक्षा तथा शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले गठित संस्थालाई विदेशिएका नेपालीहरुले सहयोग गरेका छन् ।
कतारमा वैदेशिक रोजगारीबाट फर्किएका हेटौंडाका युवा बिजय श्रेष्ठले पिता श्यामबहादुरको स्मृतिमा २० हजार रुपियाँ र हेटौंडा–१० राप्तीरोडस्थित राजक शाहीले पाँच हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच जीवन कल्याण तथा सहजीकरण संस्था अध्यक्ष रवीन्द्र शाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

घरेलु मदिरा नष्ट 
हेटौडा । अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण जस्ता कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बिभिन्न मितिमा उक्त मदिरा नियन्त्रणमा लिएको थियो । हेटौडा नगर एरियाबाट चेक जांचको क्रममा बरामद भएको अबैध घरेलु मदिरा १२०० लि. सोमवारे राप्ति खोलाको बगरमा स्थानिय पत्रकार एवं बुद्धिजीवीको सहभागितामा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

  ६ विधामा पुरस्कार प्रदान
हेटौडा । बिभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले मंगलबार छ वटा बिधामा पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको दशौं बार्षिक साधारणसभाको अवसरमा संगीत, समाजसेवा, कला, शिक्षा आदि क्षेत्रमा योगदान पु¥याएका छ जना व्यक्तित्वलाई पुरस्कृत गरिएकोे हो। प्रतिष्ठानले तुल्सीमाया शिवकुमारी नारी सृजनशील पुरस्कार २०७० बाट मकवानपुर महिला समूहकी अध्यक्ष तथा एचआईभी संक्रमित भएर पनि समाजमा एचआईभी विरुद्ध सचेतना जगाउँदै आएकी ईश्वरी बानियाँलाई दश हजार एक रुपियाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ। छहजार ६१ रुपियाँ राशिको भीम वाल प्रतिभा पुरस्कार २०७० हेटौंडा–४ की बिनिशा लामालाई प्रदान गरिएको छ । प्रतिष्ठानले पन्ध्र हजार एक रुपियाँ राशिको शीला नारी संगीत पुरस्कार २०७१ हेनपा–५ निवासी गायिका अस्मिता खड्कालाई प्रदान गरिएको छ ।पच्चीस हजार एक रुपियाँ        राशिको हर्षनर बज्रचार्य स्मृति पुरस्कार २०७१ मकवानपुरका बरिष्ठ शिक्षाविद् धर्मदत्त न्यौपानेलाई प्रदान गरिएको छ। 
 
 गैसस महासंघद्वारा ज्ञापनपत्र
हेटौडा। गैरसरकारी संस्था महासंघ मकवानपुरले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत सामाजिक परिचालन कार्यक्रमका लागि संस्था छनोट प्रक्रिया स्थगन माग गर्दै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको छ। 
आइतबार गैसस मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको नेतृत्वमा गएको गैससकर्मीहरुको टोलीले हेटौंडा नगरपालिका र जिल्ला विकास समिति मकवानपुरलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सामाजिक परिचालन कार्यक्रम संचालनका लागि आवश्यक सामाजिक परिचालकहरुको छनोट, नियुक्ति तथा सेवा सुविधा र पारिश्रमिक भुक्तानी प्रक्रियाका लागि गरिएको व्यवस्था र यसले सिर्जना गर्ने अनुत्तरदायी अवस्थाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले एलजीसीडीपी सञ्चालनका  लागि लागू गरेको सामाजिक परिचालन कार्यविधि २०७१ मा राखिएका प्रावधानहरुले साझेदार गैससहरुको स्वायत्तता, स्वाधिनता र निर्णय अधिकार माथि हस्तक्षेप हुने महासंघले ठहर गरेको छ। 

सम्पादकीय 
संविधान निर्माण कार्य छायामा 
हाम्रो माझमा एउटा नेपाली उखान छ नि “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” । हाम्रा राजनीतिक दलहरुले हो यस्तै गतिविधि देखाइरहेका छन् अहिले । एक वर्षमा जसरी पनि संविधान बनाउछौ भनेर दोस्रो संविधान सभाको निर्वाचनताका नागरिकसामु बाचा गरे । तर एक वर्ष सकिन   धेरै महिना वाँकी छैन । उनीहरु संविधान बनाउने मेसोमा अझै पनि लागेका छैनन् । समिति र उपसमिति बनाउने र त्यसका सभापति चयन गर्ने बाहेक संविधान निर्माणको ठोस कार्यको थालनी नै भएको छैन । पहिलो संविधान सभामा सहमति हुन नसकेको मुल मुद्दाहरु राज्यपुर्नसंरचना, शासकीय स्वरुपलगायत तमाम् विषयप्रति गम्भीरतापूर्वक छलफल नै भएको छैन ।  धेरैजसो संविधान सभाका सदस्यहरु संविधानसभामा मै उपस्थिति नहुने र भएकाहरु हाजिर गरेर फर्किनु बाहेक अरु काम भएका छन् जस्तो लाग्दैन । 
बर्षा लाग्यो बाढी पहिरो, त्यसपछि चाडपर्व भन्दै दिन बित्छ र पुनः संविधान सभाको म्याद थप्न अलापविलाप गरेको नाटक यिनै दलहरु गर्छन् । सत्तासीन दलहरु न त सरकार चलाउन नै सकेका छन् न त संविधान निर्माण कार्यलाई नै समय दिन सकेका छन् । बाढीपीडितहरुको रुवाबासी छ सरकार सुस्तगतिमा पनि हिड्न सकेको छ जस्तो लाग्दैन । त्यसैगरी प्रतिपक्ष दलहरुले पनि संविधान निर्माणको निम्ति जति गति पक्रिनुपर्ने हो त्यो गति लिन सकेका छैनन् । प्रतिपक्षमा रहेका दलहरु मध्ये प्रमुख दल एनेकपा (माओवादी) अरु दलहरु जस्तो संविधान निर्माण गर्ने कार्यमा सुस्ताउन मिल्दैन । उसले अहिले संविधान निर्माण प्रमुख जिम्मेवारी र आफ्नो दायित्व बोधको साथ दरोसँग उभिन जरुरी छ । नत्र समय निकै घर्केपछि पछुताउनुको कुनै अर्थ छैन । यसतर्फ सबैले विचार पु¥याउन जरुरी छ ।    

समाचार

संविधानसभामा सभापतिबीच अझै छलफल मात्र
काठमाडौँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग संविधानसभाका समितिका सभापतिहरूले नियमावली र कार्यतालिकाअनुसार तोकिएको समयसीमाभित्रै आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ। 
समितिका सभापतिहरूले यही भदौ २१ गतेभित्र अघिल्लो संविधानसभाले गरेको प्रगतिको स्वामित्व ग्रहण गर्ने विषयमा गम्भीरताका साथ छलफल भइरहेको र बाँकी रहेको अवधिमा अहोरात्र खटेर जिम्मेवारी पूरा गर्ने वचन दिनुभएको छ।सरकारले संविधानसभा र समितिका काममा सहयोग पु¥याउने र त्यसकालागि उपयुक्त वातावरण बनाउनेतर्फ काम गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष नेम्वाङले सबैसँग छलफल गरेर संविधान लेखनको लागि सहमति कायम गर्न उपयुक्त वातावरण बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
व्यवस्थापिका–संसद अवरुद्व रहेको, नेकपा–माओवादीलगायत दलहरूसँगको वार्ता र संवादलाई   निरन्तरता दिँदै घनिभूत बनाउनुपर्ने आवश्यकता रहेको र विगतका सहमतिको स्वामित्व ग्रहणको विषयलाई छिनोफानो गर्ने समयावधि अत्यन्त थोरै रहेकोले कार्यतालिकाअनुरूप जिम्मेवारी पूरा गर्न आउँदा केही दिन अत्यन्त चुनौतिपूर्ण रहने देखिएको छ। 
यही भदौ २१ गतेभित्र अघिल्लो संविधानसभाका प्रगतिलाई स्वामित्व ग्रहण गरेका विषयमा सहमति कायम हुन नसके त्यसको बारेमा सूची तयार गरेर समितिले सभामा प्रस्तुत गर्नुपर्ने नियमावलीमा स्पष्ट व्यवस्था रहेको छ ।छलफलमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेल, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमीला राणा र क्षमता अभिवृद्वि तथा स्रोत व्यवस्थापन समितिका सभापति लक्ष्मी चौधरी सहभागी हुनुभएको थियो ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवस 
सरकारले आफ्नो ठानेन 
हेटौडा । राज्यद्वारा र तत्कालीन विद्रोहीबाट बेपत्ता पारिएका आफन्तहरुले अन्तराष्ट्रिय बेपत्ता दिवस पारेर राज्यले आफूलाई छुटैदेशको नागरिकको जस्तो व्यवहार  गरेकोप्रति निकै आक्रोसित भए । 
साँझ विहान भयो कि आफन्तहरु टुप्लुक्क दैलोमा आइपुग्छन् कि भन्ने आशा हरेकदिन लाग्ने गरेको भन्दै उनीहरुले राज्यले आफूलाई सामान्य जनताको व्यवहार पनि नगरेपति चित्त दुखाईरहेको समेत रहेको बताए । मनहरी रमनटारका कृष्ण्ँबहादुर घलानलाई नेपाली सेनाले घरबाटै लगेपछि उनी हालसम्म बेपत्ता छन् । ११ वर्र्षदेखि बेपत्ता रहेका घलानको खोजी गरिदिन पत्नी मनमाया घलानले हारगुहार सबै ठाउँमा गरिन् तर अहिलेसम्म कसैले सुनिदिएको छैन । ‘आजसम्म कति रोएँ र कति धेरै दुःख कष्ट सहे, कसलाई के थाहा ?’, मकवानपुरको मनहरी–३ रमन्टारकी घलानले नेपाल सरकारले हाम्रो परिवारलाई हेरेन । पति बेपत्ता भएको तीन दिन आफू र नाबालक छोराछोरीले नुनपानी तताएर खाएको भन्दै दिनरात काटेको सम्झिँदै घलानले सरकारले हालसम्म तीन लाख रुपियाँ उपलब्ध गराए पनि त्यसले मानिसको ज्यानको मूल्य चुक्ता नहुने जिकिर गरिन् । ‘मेरो पतिको ज्यान तीन लाखको होइन’, मनमायाले थपिन्। 
कामका सिलसिलामा ककनी पुगेका छोराहरु अमित र पदमबहादुर (रञ्जित)लाई सेनाले त्यहिँबाट बेपत्ता बनाएको सुभद्रा दर्नालमाथिको पीडा पनि कम छैन । दुई छोरा एकैपटक बेपत्ता पारिँदा बुढ्यौलीतर्फ ढल्किएकी उनको जीवनको सहारा अब कोही पनि छैन । हेटौंडा नगरपालिका वडा नं. ९ सुकुम्बासी बस्तीमा बस्दै आएकी सुभद्रा बिरामी भएर करिब २० दिनदेखि थलाजस्तै परेकी छन् । छोराहरु नहुँदा जेठी छोरीको हेरबिचारमा बाँचिरहेकी उनले आफूले जतिसुकै भनेपनि सरकारले नसुनेको भन्दै आक्रोस पोखिन् ।
२०६० सालमा छोरा नोमनाथ लामिछानेलाई सेनाले बेपत्ता पारेपछि सहाराविहीन बनेकी सानोनानी लामिछानेको दिनचर्या हिजोआज बढो कठिनपूर्वक बितिरहेको छ । हेटौंडा–६ चौघडाकी उनका छोरा नोमनाथ काठमाडौंबाट बेपत्ता पारिएका थिए।मकवानपुर रेडक्रसले बेपत्ता ११ जनाको परिवारको दुःख साटासाट गर्न र उनीहरुबीच अन्तक्रिर्या गरी हौसला प्रदान गर्न अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को सहयोगमा हातेमालो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
  
संयुक्त प्रेस विज्ञप्ती
हेटौडा । अखिल नेपाल रिक्सा चालक मजदुर संघ र मकवानपुर रिक्सा व्यवसायी संघ संगठनको आकस्मिक बैठकले विना दर्ता संचालनमा आइरहेको यान्त्रिक रिक्सा दर्ता गरेर मात्र संचालन गर्नको लागि हेटौडा नगरपालिकासँग माग गर्दे संयुक्त विज्ञप्ति प्रकाशित गरेको छ । 
साथै विज्ञप्तिमा भनिएको छ – अखिल नेपाल रिक्सा चालक मजदुर संघका अध्यक्ष कृष्ण रेग्मी उपचारको लागि काठ्माण्डौ जानुपर्ने भएकोले आन्दोलनका कार्यक्रम केही समयको लागि स्थगित गरिनेछ ।  विना दर्ता खुलेआम यान्त्रिक अटो रिक्सा सञ्चालन भइरहेको प्रति नगरपालिका र ट्राफिक कार्यालय मौन बसेकोप्रति आश्चर्य लागेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पीडीएबारेमा अन्र्तक्रिया
हेटौडा । नेपालको हीतमा र अन्तर्राष्ट्रिय मापदण्डअनुसार माथिल्लो कर्णाली जलविद्युत् योजनाको आयोजना वकास सम्झौता (पीडीए) हुने दाबी नेपालले गरिरहँदा स्थानीयस्तरका दलका प्रतिनिधिले भने कसै यो ठीक भएको कसैले नेपालको हितमा नभएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार हेटौंडामा आयोजना गरेको पीटीए र पीडीएसम्बन्धी छलफल तथा अन्र्तक्रियामा दलका प्रतिनिधिहरुले कैसै आवश्यक रहेको बताएका छन् भने कसैले आवश्यक नरहेको दावी गरेका छन् ।
नेपाली काँग्रेसका रमेश गिरीले जलस्रोतबाहेक अरुको सम्भावना नरहेकोले छिटो पीडीए गर्नुपर्ने बताउनुभयो । त्यसैगरी एकीकृत नेकपा (माओवादी)का ललित घलानले आँखा चिम्लेर सम्झौता गर्न नसकिने हुनाले वृस्तृत अध्ययन गर्नुपर्ने दावी गर्नुभयो। जनमोर्चा नेपालका कमलचन्द सुमनले कर्णालीको पानी पनि हत्याउने भारतीय योजनाअनुसार यसको चर्चा अगाडि बढाइएको दाबी गर्नुभयो। नेकपा(माओवादीका पृथक लामाले अप्ठ्यारो प¥यो भन्दैमा नेपालको सम्पत्ति विदेशीलाई सुम्पन नहुने बताउनुभयो ।        राष्ट्रिय प्रजातन्त्र पार्टीका सीता राम बर्तौलाले ऊर्जा र जललस्रोतलाई छुट्टै राखेर हेरिनुपर्ने भन्दै यस विषमा नेपालका नेताहरुले भ्रष्टाचार गरेको बताउनुभयो।  नेकपा मालेका सुरेन्द्र विष्टले भारतले राखेका शर्तहरु सम्झौतापूर्व नेपालीलाई जानकारी गराउनुपर्ने सुझाव दिनुभयो । राप्रपा नेपालका         रामहरि न्यौपाने र नेकपा एमाले प्रतिनिधि श्याम श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

 मकवानपुर क्याम्पसमा सहमति
हेटौडा । मकवानपुर बहुमुखी क्याम्पस र आन्दोलनरत् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच शुक्रबार सहमति जुटेको छ। आठ वटा मागमा सहमतिपछि क्रान्तिकारीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।
शैक्षिक गुणस्तर बृद्धिका लागि स्पष्ट नीति र नियम बनाएर कार्यान्वयनमा ल्याउन शैक्षिक सहायक क्याम्पस प्रमुख रामचन्द्र सुवेदी र राजेन्द्र भट्टराईलाई जिम्मेवारी दिने, आर्थिक वर्ष २०६९÷०७० को हिसाबकिताब १५ दिनभित्र सञ्चालकहरु अशोक शाक्य, प्रह्लाद लामिछाने, भीमसेन महत र विष्णुु ओझाको रोहबरमा हेर्ने र पुस्तकालयबाट नियमविपरीत पुस्तक लगेकाहरुलाई फिर्ता गर्न सात दिन म्याद लिने र कार्डवाला विद्यार्थीलाई चार थान पुस्तक उपलब्ध गराउने भएको छ ।क्याम्पस सञ्चालक समिति सदस्य भीमसेन महतको संयोजकत्वमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको आचारसंहिता निर्माण गरी कडाईका साथ लागू गर्ने, हाल कार्यरत् सुरक्षा गार्डलाई परीक्षण अवधिका रुपमा ९० दिन हेर्ने र त्यसपछि कोटेशन आव्हान् गर्ने सहमति जुटेको छ । ईलाइब्रेरी सञ्चालनमा ल्याउने, एमएड् र बीएड साइन्सलगायत अन्य प्राविधिक विषय थप गर्ने गरी क्याम्पससभाले पारित गरेका कार्य योजनाअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने भएको छ ।
     सकियो तीज पर्व
हेटौडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व शनिबार सप्तषिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाएका छन् । यससँगै यसवर्षको तीज पर्व सकिएको छ । बुधवार एक आपसमा जम्मा भएर दर खाने कार्यक्रम र विहीवार व्रतबसी पूजाआज सहित शनिवार खोला एवं नदीमा नुहाएर विधिवत रुपमा यो पर्वको समापन गरिएको छ। 
विहानै नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीनसय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका थिए । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
    ३५ जुवाडे पक्राउ
हेटौडा । जुवातास जस्ता सामाजिक बिसंगति बिकृतिलाई निरुत्साहित गर्ने क्रममा शनिबार हेटौंडाका विभिन्न जुवा अखडाबाट मकवानपुर प्रहरीले ३५ जुवाडेलाई पक्राउ गरेको छ । मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म हेटौंडा नगर क्षेत्रका पाँच वटा खालहरुबाट वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र तिमल्सिनाको टोलीले हेटौंडा–४ प्रगतिनगर स्थित हीरामान तिमल्सिनाको पसलबाट सात जना, हेटौंडा(३ सानोपोखराबाट चार जना, हेटौंडा–४ कर्राबाट पाँच जना, हेटौंडा–५ पिप्लेबाट सात जना र सानोपोखरा बाट १२ जना गरी जम्मा ३५ जना जुवाडेलाई तास र नगदसहित पक्राउ    गरेको हो । पक्राउ परेका जुवाडेहरुलाई सोधपुछ गरी पटके कायम गरी फोटो खिचेर अभिलेख राखी आइन्दा नखेल्ने सर्तमा एक पटकलाई आफन्तको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता तथा निमित्त प्रहरी प्रमुख प्रहरी नायव            उपरीक्षकले जानकारी दिनुभयो।

विराग प्रतिष्ठानद्वारा पुरस्कार घोषणा 
हेटौडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान, नेपालले यस वर्ष प्रदान गरिने विविध ६ विधाका पुरस्कृत व्यत्तित्वको नाम घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी नामावली घोषणा गरेको हो ।
२५ हजार नगद राशिको हर्षरत्न बज्राचार्य स्मृति सम्मान पुरस्कार( २०७१ बाट शिक्षाविद् धर्मदत्त न्यौपानेलाई, नगद २० हजार एकसय ५१ राशिको विजय बानिया स्मृति लोकसंगीत पुरस्कार लोक बाद्यबादक एवम् लोक गायक प्रलय चौलागाईंलाई र नगद १५ हजार एकसहितको शीला नारी संगीत पुरस्कार(२०७१बाट नेपाली चलचित्रमा सुमधुर आवाज दिन सफल गायिका अस्मिता खड्कालाई समर्पण गरिने प्रतिष्ठान कार्यबाहक सभापति सुशीला पाण्डे मानन्धरले जानकारी दिनुभयो ।
११ हजार एकसय ११ रुपिया नगदसहितको चिनकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट दृष्टिबिहीन युवा गजलकार अनिश न्यौपाने, नगद दशहजार एकसहितको तुल्सीमाया शिवकुमारी नारी सिर्जनशील पुरस्कार(२०७० बाट मकवानपुरको बसामाडी गाविसकी ईश्वरी बानिया र नगद ६ हजार ५१ राशिको भीम बालप्रतिभा पुरस्कार( २०७० बाट हेटौंडा(४ की विनिशा लामा तामाङलाई सम्मान गरिने प्रतिष्ठान महासचिव डा. गणेशकुमार पौडेलले बताए ।