Monday, August 17, 2015

२ वर्षदेखि मिटर जाँच भएन 

“एकमुष्ट महशुल कसरी तिर्ने ?”–ग्राहक
“यस वर्षदेखि कर्मचारीको व्यवस्था गरेका छौ”–प्राधिकरण

-नानीमैया विष्ट
फापरवारी । मकवानपुरको फापरबारी गाविसको २ न. वडाका जनताले विद्युत सेवा प्राप्त गरेपनि २ वर्षदेखि विद्युत महशुलको निम्ति मिटर जाँच नहुँदा एकैपटक महशुल स्वरुप शुल्क बुझाउनुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
हेटौडा सदरमुकामबाट निकै टाढा रहेको उक्त गाविसको २ न.ं वडा अन्तर्गत लालभित्ते, झुरझुरे, पाचपाण्डव, पलपले भन्ने स्थानमा स्थानीयको घर–घरमा विद्युतीय बत्ती बलिरहेको छ, तर प्रत्येक घरको ४ सय देखि ८ सय युनिट विद्युत खपत भइसक्दा पनि मिटर जाँच गर्न विद्युत प्राधिकरणबाट कर्मचारी नजाँदा एकमुष्ट शुल्क बुझाउनु पर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। समयमै कर्मचारी आएर मिटर जाँच गरेर महशुल उठाए स्थानीयबासीलाई एकैपटक आर्थिक भार नपर्ने हुनाले छिटोभन्दा छिटो कर्मचारी पठाउन आग्रह गर्दा समेत मर्मत गर्ने कर्मचारी भएपनि महशुल उठाउने कर्मचारी नभएको आफूले जवाफ पाएको फापरबारी–१, पाँचपाण्डवका जय बहादुर वाइवाले जानकारी दिए। उनले भने–“कि त जनताले पैसा तिर्नैपर्दैन भनेर स्पष्ट पारिदेओस् नत्र तिर्न पर्ने हो भने प्रत्येक घरमा ५ हजार रुपैया भन्दा माथिको रकम किसानले कसरी तिर्न सक्छन् ?” विद्युत प्राधिकरण हेटौडा शाखामा पटक–पटक जानकारी दिँदा समेत कर्मचारी पठाइदिन्छु भन्ने गरेको अर्का स्थानीय शेर बहादुर पाख्रीनलेको भनाई छ।खेतीपाती, मेला, मजदुरी गरेर विहान बेलुका छाक टार्न समेत अप्ठ्यारो परिरहेको कतिपयको परिवारलाई एकमुष्ट ठूलो रकम विद्युत प्राधिकरणलाई बुझाउन निक्कै गाह्रो पर्ने फापरवारी–१ का विष्णु बहादुर माझीको भनाई छ। 
स्थानीयहरुको आग्रह अनुसार विद्युत प्राधिकरण हेटौडा–१० स्थित कार्यालयका ‘मिटर रिडिङ फाँटका प्रमुख जिवनाथ चौलागाईलाई सम्पर्क गरी बुझ्दा यो वर्षदेखि एक जना कर्मचारी राखिएको र काम शुरु समेत भइसकेको जानकारी दिए। विद्युतको मिटर पूर्ण संख्यामा नभई आंशिक रुपमा गएको र लामो दुरीको ग्रामीण क्षेत्र भएको कारण हेटौडाबाट कर्मचारी जान सक्ने स्थिति नभएको समेत बताए।उनले भने–“मकवानपुरमा ४२ हजार भन्दा बढी विद्युत उपयोग गर्ने ग्राहक भएपनि ‘मिटर रिडिङ गर्ने कर्मचारी १५÷१६ जना मात्र   भएकोले उनीहरुलाई भ्याईनभ्याई हुने गरेको छ।”
“यस वर्षदेखि उक्त क्षेत्रका ग्राहकलाई सजिलो हुनेगरी एक जना कर्मचारीको व्यवस्था गरेका छौ।”–उनले भने। त्यहाँका ग्राहकहरुलाई मार्का नपरोस भन्ने उदेश्यले एकमुष्ट नभई किस्ताको हिसावले महशुल बुझाउने व्यवस्था समेत गरेकोले नआत्तिन समेत प्रमुख चौलागाईले अनुरोध गरे।

No comments:

Post a Comment