Monday, June 29, 2015

मकवानपुरका ८ गाविसको बस्ती जोखिममा
हेटौंडाः बैशाख १२ र २९ को बिनाशकारी भूकम्पका कारण मकवानपुरको ८ गाविस र थाहा नगरपालिकाको बस्ती जोखिममा रहेको एक अध्ययनले देखाएको छ । मकवानपुरको राक्सिराङ, खैराङ, गोगने, नामटार, टिस्टुङ, बेतिनी, धियाल, फापरबारी र थाहानगरको ९ नम्बर वडाका बस्तीहरु जेखिममा रहेको पाइएको हो । भूसंरषणबिद् र भूगर्भबिद्को टोलीले गरेको स्थलगत अध्ययन अनुसार ८ गाविसका बस्तीहरु बस्नै नहुने अवस्थामा छन् ।
जिल्ला भूसंरक्षण अधिकृत र राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका भूगर्वबिद्ले एक महिना लगाएर गरेको अध्ययनमा ८ गाविसका बस्ती अत्यन्तै जोखिमपूर्ण देखिएको हो । चिराचिरा परेका मकवानपुको ग्रामीण क्षेत्रका धेरै बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अध्ययनले देखाएको छ । भुकम्पपीडितले बस्ती सार्न माग गर्दै आएपनि सरोकारवाला निकायले चासो देखाएको छैन । बस्तीको जोखिमको अवस्थाका बारेमा अध्ययनको काम सकिएको भएपनि प्रतिबेदन बुझाउन बाँकी रहेको टोलीले अन्नपूर्ण पोष्टलाई जानकारी दिएको छ । अध्ययन टोलीले केही दिन भित्रै प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिबेदन बुझाउने भएको छ ।
वस्ती जोखिममा रहेकाले टहरो समेत निर्माण नगरी त्रिपालमा बस्दै आएका पीडितलाई वर्षात सुरु हुनुअघि सुरक्षित स्थानमा लैजाने योजना भने बनेको छैन । क्षतिको विवरण संकलन गर्ने टोलीले प्रतिवेदन पेश गरेपछि त्यसको आधारमा बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढ्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए । टोलीले सम्वन्धित क्षेत्रका निर्वाचित सभासद्सँग छलफल गरेर जोखिमको बस्तीको पनि अध्ययन गरेको प्रजिअ थपलियाले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत खटाइएको प्राविधिकको टोलीले प्रतिवेदन बुझाएपछि मात्र बस्ती स्थानान्तरण गर्ने बिषयमा निर्णय हुने बताइएको छ ।
मकवानपुरको क्षेत्र नम्बर ४ का सभासद राजाराम स्याङतानले असार ३ गते गृह मन्त्रालयमा मकवानपुरको कुलेखानी, सिस्नेरी, गोगने, आग्रा, नामटार, सरिखेत, डाँडाखर्क, काँकडा, खैराङका जोखिमयुक्त बस्ती सार्नका लागि पत्राचार गरेको बताए । स्थानीय प्रशासनले बनाएको समितिले केही काम गरिरहेको भएपनि प्रारम्भिक प्रतिबेदनले सबै जोखिमका बस्ती समेट्न नसकेको सभासद स्याङतानले बताए ।
गोगने गाविसको व्यास मावि, आग्रा गाविसको महाकाल प्रावि, कालगणेश प्रावि, सूर्यबाराही प्रावि, पंचकालिका प्रावि पनि तत्काल स्थानान्तरण गर्न सभासद् स्याङतानले गृह मन्त्रालयसमक्ष माग गरेका छन् । मकवानपुरका अधिकांश पहाडी भूभाग भौगोलिक दृष्टिकोणले बाढीपहिरोको उच्च जोखिममा रहेको यस अघि गरिएको अध्ययनले देखाएको छ । बस्तीको जोखिम हेर्दा बर्षा अघि नै स्थानान्तरण गर्नु पर्ने देखिएको टोलीले जानकारी दिएको छ ।
त्यसमा पनि भूकम्पले चिराचिरा पारेपछि योवर्षको बर्षातमा थप क्षति हुने सम्भावना रहेको छ । डाँडाहरु सबै चिरिएका कारण बर्षातमा पहिरो जान सक्छ भन्ने चिन्ताले सताएको स्थानीय पीडितले बताएका छन् । २०५९ सालको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको र त्यसबेलादेखि नै बसोबासको लागि अनुपयुक्त रहेको भन्दै बस्ती स्थानान्तरण गर्न माग स्थानीयले गरेको स्थानीय सुदीप लामाले बताए । बाढीपहिरोको जोखिमले राक्सिराङका करिब ७ सय चेपाङ र तामाङ परिवार प्रभावित छन् । भुगर्भबिद्ले दिएको प्रतिबेदन पछि सर्बपक्षीय छलफल गरेर निर्णयमा पुगिने स्थानीय प्रशासनले बताएको छ ।

विद्यार्थीलाई सम्मान 
हेटौडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा यसवर्षको एस.एल.सी. परीक्षामा जिल्ला प्रथम तथा सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरुलाई आज सम्मान गरेको छ ।
जिल्ला प्रथम हुन सफल छात्रमा निश्चल भुषाल, पुजन दाहाल र छात्रा तर्फ आरती बडाल र सामुदायिक तर्फबाट मनिष कुमार महत्तोलाई सम्मान गरिएको छ । त्यसैगरी विशिष्ठ श्रेणीमा उत्तीर्ण हुने सहित २१ जनालाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।संगठनका जिल्ला उपाध्यक्ष शुभलक्ष्मी वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मिना अर्याल प्रमुख रहनुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिहरुमा जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद पौडेल र अतिथिहरुमा ललित घलान, राजेन्द्र भट्राई, तिर्थबहादुर थापा लगायतका रहनुभएको थियो ।