Friday, September 18, 2015

भूकम्पपछि छिमेकीको गोठमा बास 

भैसे । भैसे गाविस वडा न. २ (कालिटार)को ढड्डाघारी मा बसोबास गर्दै आउनुभएकी विना राना उमेर ६३ वर्ष पुग्नुभयो। ९ वर्षमा विवाह भएर एकडेढ वर्षको घरजमपछि माइती आएर बस्नुभयो। २०२९ सालमा बुबाको मृत्युपछि अहिले ९१ वर्षको आमा र ५० बर्षको बहिनीलाई साथ लिएर बाँचिरहनुभएको छ । आफ्नो ५ जना हुनेखाने दाजुभाइ भएपनि आफूहरु ज्याला मजदुरी गरेर छाक टारिरहेको गुनासो उहाँ गर्नुहुन्छ । अलि अलि खेतीपाती भएपनि खेती लगाउन सक्ने मान्छे कोही नहुदा उपचार समेत गर्न नसक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।
बैशाख १२ गते गएको भूकम्पले आफ्नो ८४ वर्ष पुरानो घर चिरा पारेको कारण बस्न नमिल्ने भएपछि छिमेकीको गोठलाई त्रिपालले बारेर बसिरहनुभएको छ । “छिमेकीले रक्सी खाएको निहुँले दिनहुँ निस्केर जा भन्ने गरेको छ, तर कहाँ जानु ।” उहाँले दुखेसो गर्नुभयो।
राहतको नाममा एउटा त्रिपाल पाएको बताउने रानाले २ दिन मजदुरी गर्न गयो भने ३ दिनलाई पु¥याएर खानुपर्ने बाध्यता रहेको बताउनुभयो। आफूले दाजुभाईले दिन नमान्दा–नमान्दै पनि ३ रोपनी जग्गा अंशको रुपमा  लिएको उहाँले त्यो जग्गा पनि सहकारीमा धितो राखेर ऋण लिनुभएको छ। हेटौडा–२मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ५० हजार ऋण लिँदा धितो राखेको १ वर्ष नाघिसकेको र अहिलेसम्म त्यसको व्याजसम्म पनि तिर्न नसक्दा आफूलाई पीर लागेको उहाँ बताउनुहुन्छ । बुढी आमाको उपचार खानेलाउने कुरामा समेत सहयोग नगर्ने छोराहरु करोडपति भएपनि के काम भन्दै आक्रोस पोख्नुहुन्छ विना रानाकी साथी भैसे–७ कि माइलीमाया लामा । उमेर ढल्किसकेका एक आमा र दुईछोरी कतिन्जेल ज्याला मजदुरी गरेर जीवन जिउने हुन थाहा छैन ।

सुकुम्बासी बस्तीमा फुल्दै सहकारी
मनहरी। विभिन्न कालखण्डमा मकवानपुरको उत्तरपश्चिम गा.वि.स.हरुबाट बाढीपीडित तथा विभिन्न कारणले आएर मनहरी–३ रमनटारमा नयाँ बस्ती शुरु गरेका त्यहाँका बासिन्दाहरुले विस्तारै विकासका ढोकाहरु खोल्न थालेका छन्। खानेपानी, विद्यालय, बाटोघाटो, बिजुली लगायत तमाम विकासका आधारहरुलाई उनीहरुले व्यवस्थित गर्दै लगेका छन्। यसैमध्ये स्थानीय केही जागरुक युवाहरुले आर्थिक समस्यालाई केही सहज पार्न खोलिएको सहकारी दिनप्रतिदिन फूल झै फुल्दै गएको पाइएको छ।
शनिवार सोही स्थानमा ‘रमनटार डिपार्ट बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभामा सहभागी हुने मौका पाइयो।प्रस्तुत प्रतिवेदनमा उल्लेख भएअनुसार २२१ जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थामा शेयर पूँजी २ लाख ४९ हजार ८ सय रुपैया रहेको छ। गाउँघरमा ठूला पूँजीको बैंकको सट्टा सहकारीलाई विकास र विस्तार गर्नुपर्ने भन्दै कार्यक्रमका वक्ताहरुले आत्मनिर्भरको निम्ति सहकारी एउटा साहारा बन्ने बताए।
कार्यक्रम संस्थाका अध्यक्ष उमेश मोक्तानको सभाध्यक्षता तथा पूर्व सभासद् कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा सहकारीलाई शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि मोक्तानले सहकारी आधारभूत जनताको आर्थिक उन्नतीको माध्यम बनिरहेको बताउनुभयो। उहाँले वर्तमान राजनीतिक विषयमा टिप्पणी गर्दै तराईको आन्दोलनबाट मकवानपुरलाई २ नम्बर प्रदेशमा गाभ्न माग भइरहेको र केही पार्टीका नेताहरु त्यसप्रति सकारात्मक बन्दै गएको सन्दर्भमा यस विषयमा मकवानपुरबासी चनाखो हुनुपर्ने औंल्याउनु भयो। कार्यक्रममा अध्यक्ष मोक्तानले सहकारीको वार्षिक प्रगति प्रतिवेदन

प्रगतिशील तीज मनाउन आग्रह
हेटौडा । आउदै गरेको नेपाली महिलाहरुको पर्व तीजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले शुक्रवार शुभकामना आदनप्रदान गर्दै तीजलाई भड्किलो र प्रतिश्पर्धात्मक ढंगले नमनाउन आग्रह गरेका छन्।
कार्यक्रममा वक्ताहरुले महिला अधिकारका विषयमा बोल्न र महिलाका दुःख, बेदनालाई गीत संगीत तथा भेटघाटबाट बाहिर ल्याउनुपर्ने भन्दै आमाको नामबाट नागरिकता दिने सवालमा समेत आवाज उठाउन अनुरोध गरे। महँगा गरगहना र कपडा किन्ने होडबाजी चलेको भन्दै वक्ताहरुले तीजले सबै महिलाहरुमा भाइचारको विकास गराउन मद्दत पुग्ने समेत बताए।
एनेकपा (माओवादी) का नेता अप्सरा लोप्चनको अध्यक्षतामा भएको कार्याक्रममा अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य रञ्जना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एनेकपा (माओवादी) मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी, अनेमसंघ (क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन, सहसचिव प्रकाश पाण्डे, मानबहादुर लामा, प्रमीला पुलामी,अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य मीना अर्याल,पत्रकार नानीमैया विष्ट, निर्माण मजदुर संगठनकी विष्णु दराई लगायतले मन्तव्य दिँदै तीजको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा भगवती लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। शुभकामना आदानप्रदान कार्यक्रममा संघीय समाजवादी फोरमकी जिल्ला उपाध्यक्ष कुसुम बानियाँ, अखिल नेपाल शिक्षक संगठनका करुणा थापा लगायतको उपस्थिति रहेको थियो ।
हिन्दु महिलाहरुले मात्र होइन सबैले साझा पर्वको रुपमा समेत मनाउन बोल्ने वक्ताहरुले अनुरोध गरेका थिए। वक्ताहरुले तीजलाई परम्परा जोगाउने हिसाबले मात्र नभई समसामयिक राजनीतिक विषय र महिलाका विषयमा आवाज उठाउनुपर्ने बताएका थिए ।