Monday, August 29, 2016

तिजलाई सभ्य रुपमा मनाउन आग्रह 



हेटौडा, १३ भदौ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले नजिकिदै गरेको तिजको अवसरमा यसको सांस्कृतिक, सामाजिक लगायत विविध पक्षको विषयमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना सँगै नाचगान गरेर तिज कार्यक्रम मनाएको छ ।
संगठनका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले दिनप्रतिदिन तिज भड्किलो हुँदै गएको भन्दै यसले घरपरिवारमा द्वन्द्व फैलाउने काम बढाउदै लगेका बताउनुभयो । बुझेका हामी दिदीबहिनीले विकृतिलाई हटाएर असल समाज निर्माण गर्न योगदान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु  ओम घलान (प्रदिप), भीम पाख्रिन, सम्राट तुम्बाहाङ्फे, पर्मिला लामा, लक्ष्मी पाख्रिन, आशा नेपाली, रञ्जना श्रेष्ठ लगायतकाले तिजलाई सभ्य र भव्य रुपमा मनाउन शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम संगठनका केन्द्रीय सदस्य लक्ष्मी माझीले संचालन गर्नुभएको थियो । सँगै दरखाने तथा सांस्कृतिक कार्यक्रममा गाउँ गाउँबाट महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment