Friday, September 2, 2016

हुप्रको भौतिक संरचना हटाउन एकजुट

हेटौडा, १८ भदौ
 हुप्रचौर सरोकार समिति, हेटौडा–४ ले आज गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले हुप्रचौरमा विद्यमान अस्थाई टहरा हटाउनुपर्नेमा आफूहरु एकजुट भएको बताएका छन् । दिनप्रतिदिन हुप्रचौर संकुचित हुँदै गइरहेको भन्दै आयोजित कार्यक्रममा बोल्ने सबै वक्ताहरुले हुप्रचौर हेटौडाको शान भएकोले यसलाई अतिक्रमण हुनबाट जोगाउन आफूहरु लागिपर्ने बचनवद्धता व्यक्त गरे । 
हुप्रचौर सरोकार समितिका अध्यक्ष दीपक खड्को अध्यक्षतामा भएको कार्यक्रममा नगरविकास समितिका अध्यक्ष राजिव सुवेदी, नागरिक वडा मञ्चका राजन मैनाली, वडा सचिव नेत्र प्रसाद सापकोटा, प्रदिप कोइराला, दामोदर लामिछाने, विष्णु ओझा, सिताराम बर्तौला, मिन बहादुर लामा लगायतका राजनीतिक दलका प्रतिनिधिहरुले हुप्रमा भौतिक संरचना बनाउन दिन नहुने बताएका थिए । सबै हेटौडाबासीको चासोको विषय हुनुपर्ने भन्दै रामकृष्ण श्रेष्ठ, देवेन्द्र कोइराला, ज्ञानेन्द्र देवकोटा, लवराज ठकुरी, संगीत श्रेष्ठ, उज्जवल चौलागाई लगायतका स्थानीय तथा टोल विकास संस्थाका प्रतिनिधिहरुले नगरविकासको दोहोरो प्रवृत्तिप्रति आपत्ति जनाए । 

"तीजलाई सामाजिक मुद्दासँग जोड्न आग्रह"

हेटौडा, १७ भदौ
 तीजले आम दिदीबहिनीको एकतालाई बलियो बनाउने मात्र होइन बिछोडिएको साथीहरुसँग मिलन पनि गराउने भएको यसलाई धर्मसँग भन्दा पनि सामाजिक र अधिकार प्राप्तिको बाटोसँग जोडेर हेर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
प्रगतिशिल लेखक संघ मकवानपुरको आयोजनामा “तीज : कति संस्कृति ? कति विकृति ? ” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् । वक्ताहरु लेखक तथा साहित्यकार एवं प्रलेस केन्द्रिय सचिव सरीता तिवारी, पत्रकार तथा लेखक सावित्री गौतम, राजनीतिकर्मी मुनु सिग्देल, आशा नेपालीले तीजको मौलिकता हराउदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
  कार्यक्रममा वक्ताहरुले संस्कृतिलाई भड्किलो होईन सभ्य र मौलिक रुपमा मनाउनुपर्ने बताउदै खर्चिलो संस्कृतिलाई विचारवान महिला दिदीबहिनीले विस्तारै न्युनिकरण गर्दै लैजानुपर्ने बताए। प्रलेस केन्द्रिय सदस्य निमेष निखिलले कार्यक्रमको समिक्षा गर्नुभएको थियो भने पुरुषोत्तम आचार्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका धेरैजसो साहित्यिक संघ संगठनबाट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Monday, August 29, 2016

तिजलाई सभ्य रुपमा मनाउन आग्रह 



हेटौडा, १३ भदौ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले नजिकिदै गरेको तिजको अवसरमा यसको सांस्कृतिक, सामाजिक लगायत विविध पक्षको विषयमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना सँगै नाचगान गरेर तिज कार्यक्रम मनाएको छ ।
संगठनका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले दिनप्रतिदिन तिज भड्किलो हुँदै गएको भन्दै यसले घरपरिवारमा द्वन्द्व फैलाउने काम बढाउदै लगेका बताउनुभयो । बुझेका हामी दिदीबहिनीले विकृतिलाई हटाएर असल समाज निर्माण गर्न योगदान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु  ओम घलान (प्रदिप), भीम पाख्रिन, सम्राट तुम्बाहाङ्फे, पर्मिला लामा, लक्ष्मी पाख्रिन, आशा नेपाली, रञ्जना श्रेष्ठ लगायतकाले तिजलाई सभ्य र भव्य रुपमा मनाउन शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम संगठनका केन्द्रीय सदस्य लक्ष्मी माझीले संचालन गर्नुभएको थियो । सँगै दरखाने तथा सांस्कृतिक कार्यक्रममा गाउँ गाउँबाट महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।