Monday, October 19, 2015

दशैं हो कि दशा ?

नानीमैया विष्ट

                              

हेटौडा । भूकम्पले आक्रान्त पीडितहरु अस्थाई टहरा र त्रिपालमुनी बसेर सोध्दैछन्, हाम्रो निम्ति यो दशै हो कि दशा ? त्यतिमात्र कहाँ हो र भूकम्पबाट बाचियो अब जसो तसो दशै त मान्नुपर्छ भनेर अलि अलि जोहो गरेका सर्वसाधरणलाई पनि भारतको नाकाबन्दीले आफूलाई चाँहिएको सामनको अभाव र महँगीले यो दशै साँच्चै नै दशैं होइन दशा नै हो भन्ने ठानेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीले अरु स्थान जस्तै हेटौडालाई पनि निक्कै प्रभाव पारेको छ । नाकाबन्दीको कारण डिजल, पेट्रोल, मटितेल, एल.पि. ग्यास सँगै अन्य उपभोग्य वस्तुहरुको आयात हुन नसक्दा बजारमा अभाव बढ्दैछ भने त्योसँगै कालोबजारी समेत बढेकोछ । 
उपभोक्ताहरुले बताएअनुसार अत्यावश्यक खाद्यन्नहरुसमेतमा महँगी बढाएर विक्री भइरहेको त्यो पनि भनेजति नपाइरहेको अवस्था छ। दशैलाई आवश्यकपर्ने खाद्यन्नमा समेत मूल्य बृद्धि गरिएको छ। सिमित सामन भेटिने भएकोले व्यवसायीले भनेको जति मूल्य तिर्न आफूहरु बाध्य भएको उपभोक्ता सर्मिला रानाभाट बताउछिन्। यातायातको साधनहरुमा पनि त्यस्तै भाडाबृद्धि गरिएको अवस्था छ। जसरी पनि आफूहरुलाई गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ जति भने उति तिर्न बाध्य भएको कोपिला शिवाकोटी बताउछिन्। त्यस्तै तरकारी किसानको बारीमा कुहिएर खेर गइरहेको छ बजारसम्म ल्याउने यातायातको साधन छैन यता उपभोक्ताहरु महँगो मूल्य तिर्न बाध्य छन् भन्छन नामटारका शिव बर्तौला। 
त्यसैगरी मकवानपुर होटल एशोसियसनले पत्रकार सम्मेलन गरेर आफूसँग आबद्ध होटलहरु मध्ये एकसय भन्दा बढी बन्द भइसकेको जानकारी दिएको छ। ग्यासको अभावले होटलहरु बन्द गर्न बाध्य भएका छन् । दाउरा ल्याउन समेत डिजेल नहुँदा समस्या परेको होटल व्यवसायीहरुको गुनासो छ। न्यु स्वीट एण्ड चार्ट हाउसका संचालक उमाप्रसाद रौनियारको अनुसार यहि अवस्था रहिरहे आफूले नि बन्द गर्नुपर्ने अवस्था आउने बताउछन्। दुईहप्ता भन्दा बढी भयो ग्यास सकिएको अहिलेसम्म दाउरामा पकाइरहेको उनले दाउरामा पकाउदा जनशक्ति बढी लाग्ने र ढिला हुने भएकोले समस्या रहेको बताए । दाउरा आफू नौ रुपैया किलोबाट किन्न थालेको अहिले बढिसकेको भन्दै छिटो भन्दा छिटो नाकाबन्दी खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउछन्। त्यस्तै यस वर्ष हेटौडामा सरकार र सहकारीले सुपथ मूल्यका पसलहरु खोलेका छैनन्। जसले गर्दा व्यवसायीहरुको एकलौटी मनोमानी रहेको उपभोक्ताको गुनासो छ । यस्तो जटिल परिस्थिति स्थानीय प्रशासनले बजार अनुगमन गर्दै कालोबजारी र महँगीलाई नियन्त्रण गर्न चनाखो हुनुपर्दछ । यतातिर निकायको ध्यान जाओस् ।