Wednesday, October 5, 2016

प्रेस सेन्टर मकवानपुरको शुभकामना आदन–प्रदान




फोटोहरु: आशा नेपाली, दिनेश वानिया

हेटौडा । पेस सेन्टर नेपाल मकवानपुरले दशैं, दिपावली, छठ, नेपाल सम्बत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सद्भाव र एकता कायम गरिराख्न सबैमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज कुमारी मोक्तान, संयोजक प्रेम बहादुर पुलामी, जिल्ला कार्यलयका नेताहरु, नेकपा मालेका सचिव भिमसेन महत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताव विष्ट, भानुभक्त आचार्य लगायतका रहनुभएको थियो । साथै उद्योग संघका नवराज अर्याल, निर्माण व्यवसायी संघका बालकुमार मल्ल, श्याम ढकाल, मकवानपुर उद्योग वाणिज्य संघका कृष्ण कटवाल सहित विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिति रहेको थियो । प्रेस चौतारीका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियनका अध्यक्ष रुपेश दुलाल, नेपाल प्रेस सोसाइटीका संयोजक मनोज ढोडरी, क्रान्तिकारी पत्रकार संगठनका सचिव राज सापकोटा लगायतका जिल्ला सक्रिय संचारकर्मीहरु उपस्थिति रहेको थियो । 

भीमफेदी काराखारको बन्दीलाई खसी प्रदान



हेटौडा । मकवानपुरको भिमफेदीमा रहेको कारागारका बन्दीहरुलाई योङ कम्युनिष्ट लिग नेपाल, मकवानपुरले दशैको अवसरमा शुभकामना आदानप्रदान गर्दै खसी प्रदान गरेको छ । कार्यक्रममा बन्दीहरु बीच र त्यो भन्दा बाहिरको सम्बन्धमा सद्भाव कायम राख्नलाई यो कार्याक्रम आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो । बन्दीहरु सुजित वि.क., संजोग श्रेष्ठ लगायतकाले दशै जस्तो पर्वमा आफूहरुलाई सम्झिएकोमा धन्यवाद दिए । कारागारमा एक कार्यक्रम गरि जेलर चिरन्जीवी थापालाई केन्द्रका अध्यक्ष प्रेम वहादुर पुलामीले कैदिहरुका लागि खसी प्रदान गर्नुभएको छ । कार्यक्रममा पार्टीका नेताहरु भिम पाख्रीन, वाईसिएल अध्यक्ष जीवन गोले,प्रकाश पाण्डे, अरुण वल, भुवन खनाल लगायतको उपस्थिति थियो ।

Sunday, September 11, 2016

थाहा चोकमा कृष्णमन्दीर बन्ने 
हेटौडा । थाहा चोकमा भएको सानो सार्बजनिक पर्ती जग्गामा कृष्ण मन्दिर निर्माण गर्ने सम्बन्धमा स्थानीय बासीहरु बीच छलफल हुँदा कृष्ण मन्दीर बनाउने भन्दै एक निर्माण समिति बनाईएको छ । समितिको अध्यक्षमा इश्वर पाठक, उपाध्यक्ष यादब लामा, सचिब दिपक खड्का, कोषाध्यक्ष प्रेमलाल श्रेष्ठ सदस्यहरुमा रबि अर्याल, कमल सापकोटा, भरिपुर्ण नेपाल , सरस्वती रानाभाट, कृष्ण नकर्मी, हरि ढकाल, प्रकाश खतिवडा, लगायत ४३ सदस्यीय निर्माण समिति गठन गरिएको छ । त्यस्तै सल्लाहकारमा राजन मौनाली , डाक्टर गणेश लामा , भगवान मैनाली , कृष्ण घिमिरे , डाक्टर बलराम भट्ट लगाएत रहनु भएको समितिका सचिव दिपक खड्काले जानकारी दिनुभयो । उक्त भेलाले एक बर्ष भित्र मन्दिर बनाईसक्नुपर्ने समेत निर्णय गरेको छ ।

Friday, September 2, 2016

हुप्रको भौतिक संरचना हटाउन एकजुट

हेटौडा, १८ भदौ
 हुप्रचौर सरोकार समिति, हेटौडा–४ ले आज गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले हुप्रचौरमा विद्यमान अस्थाई टहरा हटाउनुपर्नेमा आफूहरु एकजुट भएको बताएका छन् । दिनप्रतिदिन हुप्रचौर संकुचित हुँदै गइरहेको भन्दै आयोजित कार्यक्रममा बोल्ने सबै वक्ताहरुले हुप्रचौर हेटौडाको शान भएकोले यसलाई अतिक्रमण हुनबाट जोगाउन आफूहरु लागिपर्ने बचनवद्धता व्यक्त गरे । 
हुप्रचौर सरोकार समितिका अध्यक्ष दीपक खड्को अध्यक्षतामा भएको कार्यक्रममा नगरविकास समितिका अध्यक्ष राजिव सुवेदी, नागरिक वडा मञ्चका राजन मैनाली, वडा सचिव नेत्र प्रसाद सापकोटा, प्रदिप कोइराला, दामोदर लामिछाने, विष्णु ओझा, सिताराम बर्तौला, मिन बहादुर लामा लगायतका राजनीतिक दलका प्रतिनिधिहरुले हुप्रमा भौतिक संरचना बनाउन दिन नहुने बताएका थिए । सबै हेटौडाबासीको चासोको विषय हुनुपर्ने भन्दै रामकृष्ण श्रेष्ठ, देवेन्द्र कोइराला, ज्ञानेन्द्र देवकोटा, लवराज ठकुरी, संगीत श्रेष्ठ, उज्जवल चौलागाई लगायतका स्थानीय तथा टोल विकास संस्थाका प्रतिनिधिहरुले नगरविकासको दोहोरो प्रवृत्तिप्रति आपत्ति जनाए । 

"तीजलाई सामाजिक मुद्दासँग जोड्न आग्रह"

हेटौडा, १७ भदौ
 तीजले आम दिदीबहिनीको एकतालाई बलियो बनाउने मात्र होइन बिछोडिएको साथीहरुसँग मिलन पनि गराउने भएको यसलाई धर्मसँग भन्दा पनि सामाजिक र अधिकार प्राप्तिको बाटोसँग जोडेर हेर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
प्रगतिशिल लेखक संघ मकवानपुरको आयोजनामा “तीज : कति संस्कृति ? कति विकृति ? ” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् । वक्ताहरु लेखक तथा साहित्यकार एवं प्रलेस केन्द्रिय सचिव सरीता तिवारी, पत्रकार तथा लेखक सावित्री गौतम, राजनीतिकर्मी मुनु सिग्देल, आशा नेपालीले तीजको मौलिकता हराउदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
  कार्यक्रममा वक्ताहरुले संस्कृतिलाई भड्किलो होईन सभ्य र मौलिक रुपमा मनाउनुपर्ने बताउदै खर्चिलो संस्कृतिलाई विचारवान महिला दिदीबहिनीले विस्तारै न्युनिकरण गर्दै लैजानुपर्ने बताए। प्रलेस केन्द्रिय सदस्य निमेष निखिलले कार्यक्रमको समिक्षा गर्नुभएको थियो भने पुरुषोत्तम आचार्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका धेरैजसो साहित्यिक संघ संगठनबाट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Monday, August 29, 2016

तिजलाई सभ्य रुपमा मनाउन आग्रह 



हेटौडा, १३ भदौ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले नजिकिदै गरेको तिजको अवसरमा यसको सांस्कृतिक, सामाजिक लगायत विविध पक्षको विषयमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना सँगै नाचगान गरेर तिज कार्यक्रम मनाएको छ ।
संगठनका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले दिनप्रतिदिन तिज भड्किलो हुँदै गएको भन्दै यसले घरपरिवारमा द्वन्द्व फैलाउने काम बढाउदै लगेका बताउनुभयो । बुझेका हामी दिदीबहिनीले विकृतिलाई हटाएर असल समाज निर्माण गर्न योगदान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु  ओम घलान (प्रदिप), भीम पाख्रिन, सम्राट तुम्बाहाङ्फे, पर्मिला लामा, लक्ष्मी पाख्रिन, आशा नेपाली, रञ्जना श्रेष्ठ लगायतकाले तिजलाई सभ्य र भव्य रुपमा मनाउन शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम संगठनका केन्द्रीय सदस्य लक्ष्मी माझीले संचालन गर्नुभएको थियो । सँगै दरखाने तथा सांस्कृतिक कार्यक्रममा गाउँ गाउँबाट महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

Saturday, August 20, 2016

हत्याकाण्डपछिको त्यो दृश्य


बोधबहादुर चौलागाईं
काठमाडौं
Doramba_Edited
दोरम्बा हत्याकाण्ड हुँदा हामी कोशीपारि तिल्पुङमा थियौं । हामीले सरकारी सञ्चार माध्यममार्फत् दोरम्बा घटनाको पहिलो खबर सुन्यौं ।
सुरुमा त पत्याउनै सकिएन किनकि हामीलाई दाङको हापुरेमा डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोली र सरकारी वार्ता टोलीबीच उच्चस्तरीय वार्ता भइरहेको अवस्थामा यस्तो हुनै सक्दैन जस्तो लाग्यो । कतिपय सञ्चार माध्यमबाट कमरेड ललिकासहित ७ जनाको हत्या भएको खबर आए । केही माध्यमबाट १३ जना त केही माध्यमबाट ३ जना मारिएको खबर सुनिए ।
हामी एकदमै छट्पटाएर तत्कालीन एरिया सेक्रेटरी प्रयास, उज्ज्वल कमरेडहरू लगायतका बीच छलफल गर्यौं । सबै छलफल अनुउत्तरितजस्तै देखिए । एरिया इन्चार्ज कमरेड प्रयाससँग अनुमति लिएर हामी केही साथीहरू पारि जान खोज्यौं ।
Bodh Bahadur
लेखक बोधबहादुर चौलागार्इं
उच्च नेतृत्वसँग फोन सम्पर्क सम्भव भएन । भदौ २ गते बिहान ८ बजे हल्दी भन्ने नाका क्रस गरेर दोरम्बातर्फ लाग्यौं । बाटोमा पर्ने गेलु, फुलासी हुँदै घटना–विवरण बुझ्दै दोरम्बा पुगियो । १९ जना मान्छे मारिका हुन्, चतुरमान थामीको शब गाउँलेहरू आफैंले ल्याए, अरु शब त्यहीं छन् भन्ने कुरा दोरम्बा नपुग्दै थाहा पाइसकियो ।
फेरि पनि घटना दोहोरिन सक्ने सन्त्रास एकातिर, अर्कातिर आक्रोश र पीडाका साथ हामी घटनास्थल पुग्न आतुर थियौं । त्यहाँ पुग्दा त्रासदीयम वातावरण थियो । अहिलेसम्म पनि दोरम्बा हत्याकाण्डबारे बोल्नुपर्दा कसरी बोलूँ र कहाँबाट सुरु गरूँ भनेर म सधैं अल्मलिन्छु ।
घटनाको भोलिपल्ट दिउँसो दिन २ बजेतिर हामी घटनास्थल पुग्यौं र केही स्थानीय साथीहरू समेतको सहयोगमा यथार्थ विवरण बुझ्यौं । सबै साथीहरूको शब संकलन गरेर लाइनमा राखी गन्ती गर्यौं अनि अन्तिम श्रद्धाञ्जली दिनेतिर लाग्यौं ।
पाखाभरि यत्रतत्र छरिएका साथीहरूका शव हेर्दा खापैखाप दाउरा चिरेर फालेको जस्तो, मूढा पल्टाएर छरपस्ट फालेको जस्तो देखियो । यतिसाह्रो निर्मम क्षण पनि भोग्नुपर्ला भन्ने त हामीले कल्पनासम्म पनि गरेका थिएनौं, जो त्यस दिन प्रत्यक्षतः व्यहोर्नुपर्यो ।
दुस्मनप्रति तीव्र आक्रोश, घृणा र सुराकीको पहिचान गर्ने चुनौतीले हाम्रो दिमाग रिङ्ग्यायो । यो घटनाको सुराकी पार्टीभित्रकै हो वा बाहिरको ? यस घटनाले के–कस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव पार्ला ? यस्तैयस्तै प्रश्न रुमल्लिए हाम्रो मथिंगलमा । यो घटना सामान्य खालको वा ख्यालठट्टाको विषय थिएन ।
त्यतिसाह्रो दुःखद् र मर्माहत परिवेशमा समेत पार्टी परिस्थितिलाई पचाउँदै, संयमित हुँदै अगाडि बढ्ला र घटनालाई अन्तर्राष्ट्रियकरण गर्न समर्थ होला भन्ने त हामीले त्यसबेला सोच्न पनि सकेनौं । पछि त्यो घटना अन्तर्राष्ट्रियकरण भयो, रामेछापले साँच्चै नै वीरताको नयाँ कीर्तिमान कायम गर्यो भन्ने यथार्थ स्थापित हुँदै जाँदा त्यत्रो नरसंहारका बाबजुद पनि हामी सम्हालियौं, धैर्यता लियौं ।
हामीले अब चुनौतीको सामना गर्नुपर्छ र दुस्मनविरुद्धको आक्रोश र घृणालाई विस्फोटित गरेर ज्वालामुखी बन्नुपर्छ भन्ने प्रेरणा लियौं । त्यस परिवेशमा स्थानीय जनताले हामीप्रति देखाएको सदभाव र साथीहरूको अनुहार नियाल्दा वातावरण एकदमै त्रसित र भरेभोलि नै कहाँ के भइहाल्छ भनेजस्तो आभाष हुन्थ्यो । अर्कोतिर, चौतर्फी चनाखो भएर हेरिरहेका आँखाहरू न हामीलाई यहीं सिध्याउँछन् कि भनेजस्तो मुद्रामा देखिन्थे ।
सिमसिम पानी परिरहेको अनि कुहिरोले ढपक्क ढाकेको वर्षामासको त्यस दिन साथीहरूका ढाडिएर गन्हाउन थालेका शव उचाल्दै गर्दा कमरेडहरू चनाखो भएर यताउति हेरिरहेका थिए । कोही कमरेडहरू त डराएर त्यहाँ आउनै नमानेको अनुभव समेत हामीले पचाउँदै र पार गर्दै आएका छौं ।
नेपाली क्रान्ति अझै पूरा नभएकाले आवश्यक पर्छ भने अझै पनि यस्ता घटनाहरू धेरै पचाउनुपर्छ । परिआएमा अझै यीभन्दा ठूलठूला घटनाहरू समेतको सामना गर्नुपर्छ, नत्र सहिदहरूले दोरम्बामा बगाएको रगतको मूल्य चुक्ता हुन सक्दैन भन्ने मलाई लाग्दछ ।
त्यतिबेलाको हाम्रो पार्टी र अहिलेको पार्टीलाई तुलना गर्दा मन धेरै नै कुँडिन्छ । माथिदेखि तलसम्मको नेतृत्वपंक्तिमा देखिएका विकृति र दिशाहीनता हेर्दा मेरो मनमा एकैसाथ अनेकौं प्रश्न उब्जिन्छन् । कम्युनिस्ट के हो ? रगत किन बग्छ ? सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीका नाममा यत्रा बलिदान किन हुने गर्दछन् ?
Doramba3
दोरम्बामा मारिएका मुख्य नेता बाबुराम लामाको शव
‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने आदर्शवादी उक्तिलाई कतै हाम्रै पार्टीले त चरितार्थ गरेको होइन भन्ने प्रश्न पनि उब्जन्छ । जबजब सत्ता अथवा कुर्सीको नजिक पुगिन्छ, तबतब जनताविरुद्ध धोका भएका विगतका इतिहास हामीबाट पनि दोहोरिन पुगेका हुन् कि भन्ने चिन्ताले सताउँछ । हाम्रो पार्टीको अहिलेको हालत देख्दा अहो ! साँच्चै नै कुनै हुलदंगा, जात्रामात्रामा त आइएन भन्ने लाग्छ ।
अहिलेसम्म पनि म दोरम्बा घटनास्थलका जनसमुदायसित निरन्तर सम्पर्क–सम्बन्धमै छु । त्यसै आसपास कार्यक्षेत्र बनाएर महिनामा एक–दुईपटक त्यो बाटो हिँड्छु । ‘यस्तायस्ता घटना घटे; जसलाई हामीले पचायौं, सामना गर्यौं तर अबको बाटो चाहिँ के हो त ?’ त्यहाँका जनताले हामीसँग बारम्बार यही प्रश्न दोहोर्याइरहेका छन् । अब हामीले के उत्तर दिने दोरम्बालाई ?
त्यो बाटो ओहोरदोहोर गर्दा दोरम्बा र देशैभरिका सहिदहरूले मलाई सोधिरहेको भान हुन्छ– ‘यतिबेला तिमीहरू कहाँ छौ ?’ शहादत पाएका मेरा साथीहरू त्यहाँ उभिएर (ठडिएर) मुठ्ठी उठाउँदै हामीलाई सोधिरहेका छन्– ‘तिमीहरू के गर्दैछौं ?’ मैले गलत काम गरें भने तिनले मलाई गिज्याउनेछन् र धिक्कार्नेछन्, तिनीहरूको घोर अपमान हुनेछ ।
तर, म क्रान्तिपथमा अविचल डटिरहें भने, मैले सही काम गरिरहें भने उनीहरूप्रति गद्दारी हुनेछैन, सहिदहरूको अपमान हुनेछैन र सहिदविरुद्ध धोका हुनेछैन भन्ने म सदैव सम्झन्छु । जहिले पनि त्यस ठाउँमा पुगेपछि म मुठ्ठी उठाएर शिर निहुर्याउँदै सहिदका सपनाप्रति प्रतिबद्धता प्रकट गर्छु– हामी झुकेका छैनौं र कदापि झुक्ने छैनौं । दोरम्बा र त्यस आसपास पुग्दा म जहिले पनि यही प्रतीज्ञाका साथ सबै सहिद कमरेडहरुको सम्झना गरेर बाटो लाग्छु ।
सहिदहरूका सपना पूरा गर्न हाम्रो पार्टी लाइन, सिद्धान्त र आफ्नो वर्गप्रति इमानदार हुनैपर्छ । हिजोको आचरण, संस्कार, संस्कृति, राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि जोगाएर तिनलाई विकसित गर्दै अगाडि बढ्नैपर्छ । रिम, कम्पोसा आदि भाइचाराहरूसँगको सम्बन्ध विकसित गर्नैपर्छ ।
समग्र कम्युनिस्ट आन्दोलनका दृष्टिले अहिले हामी शिशु कक्षामा मात्र छौं, कम्युनिस्ट बनिसकेका छैनौं । कम्युनिस्ट बन्ने बाटो र प्रक्रियामा अघि मात्रै बढेका हौं, खुड्किला–खुड्किला गर्दै लम्कन प्रयत्न त गर्यौं तर सफल भइसकेका छैनौं ।
शोषित–पीडित वर्गका नाममा खोक्रो आदर्श छाँट्ने र भाषण मात्र गर्नेहरूलाई त्यो रगतको मान्य–मूल्यता थाहा पाउन गाह्रो पर्छ । आवरणमा कम्युनिस्ट खोल ओढेर हिजो युद्धकालमा माओवादी र जनयुद्धलाई सत्तोसराप गर्ने अनि अहिलेको सजिलो परिवेशमा तीन हात उफ्रेर माओवादीकै नाममा भाषण गर्नेहरूलाई पनि हामीले नजिकैबाट नियालिरहेका छौं ।
अहिलेसम्मका घटनाक्रम नियाल्दा शायद हामी दोरम्बालाई बिर्सने, दोरम्बालगायत नेपाल आमाका हजारौं सपूत छोराछोरीले सत्य र न्यायका पक्षमा बगाएको रगत खेर जाने पो हो कि भन्ने गम्भीर चिन्ता छाएको छ ।
भीमदत्त पन्तदेखि यहाँसम्म आइपुग्दा देश र जनताका पक्षमा जति रगत पोखिएको छ, त्यसलाई सम्झेर इमानदारिता र जनताप्रति वफादारिताका साथ अगाडि बढ्न हाम्रो पार्टी प्रतिबद्ध छ । तर, नीति–योजना र कर्मबाट नै त्यो प्रतिबद्धता व्यक्त हुनुपर्छ । हामी एक इन्च पनि गलेका छैनौं र गल्दैनौं बरु तिनै महान् सहिदहरूले देखाएको बाटोमा अघि बढ्छौं । दोरम्बालगायत देशैभरका हत्यास्थलहरू माओवादी पार्टीबाट सही नीति र भिजनको आशा गर्दै पर्खिरहेका छन् । पहरेदारी र खबरदारी गरिरहेका छन् ।
(लेखक माओवादी केन्द्रसम्बद्ध किसान संघका केन्द्रीय नेता हुन्)

हुप्रमा मेला गर्न नदिनेः स्थानीय



हेटौडा, ४ भदौ
हेटौडा बजारको मुख्य भागमा रहेको हुप्र चौरमा मेला हुन दिने कि नदिने भन्ने विषयमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 
वर्षमा झण्डै ४ देखि ६ वटा मेलाहरु आयोजना हुने सम्भावनालाई मध्येनजर गर्दै हुप्रचौरमा मेला गर्न दिनुहुन्न भन्नेको संख्या धेरै देखियो । खेलकुद प्रेमीहरुले चौरलाई खेलकुद मैदान बनाउनुपर्छ भनिरहँदा चौरका आसपासका बासिन्दाहरुले भने चौरलाई खुल्ला मैदानको रुपमा छाड्नुपर्ने तर्क राखे । अखिल नेपाल खेलकुद महासंघ, मकवानपुरले आयोजना गरेको कार्यक्रममा मेला संचालन गर्ने स्थानको खोजी गरिनुपर्ने भन्दै मेला आयोजकले मेलाबाट नाफा कमाएपनि अन्यले नोक्सान व्यहोर्दै आएको कार्यक्रममा सहभागीले बताए । महासंघका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,खेलप्रेमी, स्थानीय बासिन्दा, पत्रकार लगायतकाको उपस्थिति रहेको थियो ।   

"सूचना लिन सम्झौता हुदैन "


हेटौडा, ४ भदौ
स्थानीय निकायबाट जुनसुकै सूचना जुनसुकै नेपाली नागरिकले लिन पाउने सम्बैधानिक अधिकारलाई स्थानीय निकायहरुले आनाकानी गर्ने र आपसी समझदारीमा काम गर्नुपर्ने भन्ने भनाईप्रति आपत्ति रहेको आज कार्यक्रममा वक्ताहरुले बताएका छन् । 
प्रमुख जिल्ला अधिकारीले आपसी समझ्दारीमा सूचना लिने भनेर के भन्न खोजिएको भन्दै सूचनाको हक नागरिक अभियान मकवानपुरका संयोजक कुमार अधिकारीले जुनसुकैबेला नागरिकले सूचना माग गर्न सक्ने हुनाले त्यसको लागि तयार रहन आग्रह गर्नुभयो । आज राष्ट्रिय सूचना दिवसको अवसर पारेर जिल्लामा कार्यरत पत्रकार, राजनीतिकर्मी, वकिल, अधिकारकर्मीहरुले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन् । नागरिकले जबसम्म सूचना हाम्रो हक भन्ने कुरा बुझेर आफै सूचना माग्न जाँदैनन् तबसम्म अभियान जारी राख्ने अभियानका अभियानकर्ता गिरिजा अधिकारीले बताउनुभयो ।

Friday, August 19, 2016



वाइसिएलद्वारा विद्युत प्राधिकरणलाई ज्ञापनपत्र 
माग थेक्न गाह्रो : प्राधिकण 



हेटौडा, ३ भदौ
लोडसेडिङको तालिका बाहेक पटक–पटक विद्युत कटौती भइरहँदा सर्वसाधरणको विद्युतीय सामग्रीको क्षति हुनुको साथै नियमित काम गर्नेहरुको निम्ति निकै कष्ट भएको भन्दै योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) मकवानपुरले आज विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको छ । 
जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्दै मकवानपुरबासीले लोडसेडिङको मार खेप्न बाध्य नपारियोस भन्दै वाइसियल नेपाल जिल्ला समिति मकवानपुरले नागरिकको घरमा भएको क्षतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत बताएको छ । जिल्ला संयोजक जिवन गोलेको नेतृत्वमा गएको टोलीले इन्जिनियर अविनास महतलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाइसकेपछि टोलीलाई जवाफ दिने क्रममा  भुटनदेवी स्थित विद्युत प्राधिकरणका सुपरभाइजर नारायणप्रसाद काफ्ले लाइन मर्मत गर्ने कर्मचारीको अभाव भएको जानकारी दिए । प्राधिकरणको व्यवस्थापनमा सुधार ल्याउनुपर्ने उनको भनाई थियो । त्यसैगरी इन्जिनियर अविनास महतले ज्ञापन पत्र बुझ्दै ट्रान्सफर्महरु पुरानो भएको कारण पटक पटक मर्मत गरेर चलाउनुपर्ने बाध्यता रहेको बताए । बजार क्षेत्रलाई छुट्टै फिडर बनाउन सबैतिरबाट दबाब सिर्जना गर्नुपर्ने भन्दै उनले पुरानो तरिकाबाट मात्र अहिलेको विद्युत माग थेक्न नसक्ने जानकारी दिए । 



नारायणी यातायात व्यवसायी संघले विहीबार पत्रकार सम्मेलन गरेको छ । भदौ २ गतेदेखि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेपाल सरकारको निर्णय भनी बाटो ईजाजतपत्र नभएको सडकमा यात्रुबाहक सवारी संचालनमा रोक लगाएकोप्रति ध्यानाकर्षण भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। 



Monday, August 15, 2016

तीन विद्यार्थी संगठनद्वारा प्रेस विज्ञप्ति
जि.शि.अ.माथिको अभद्र व्यवहारप्रति खेद प्रकट



हेटौडा, ३१ साउन
कक्षा १२ (प्लस टु) लाई दिने छात्रबृत्ति प्रक्रियामा विद्यार्थीहरुलाई सहभागी नगराईकन  कागजी प्रक्रिया मात्र मिलाएर विभेदपूर्ण निर्णय गरिएको भन्दै आज मकवानपुरका तीनवटा विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयमा शिक्षा अधिकारीलाई संयुक्त प्रेस विज्ञप्ति बुझाएका छन् ।
नयाँ संविधानमा व्यवस्था भए अनुसार लक्षित समुदाय (दलित, सिमान्तकृत,सहिद परिवार, अपाङ) आदिलाई कक्षा १२ सम्मको निशुल्क शिक्षा छिटो कार्यान्व्यन गर्न बुझाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र, बैद्य माओवादी र विप्लब माओवादी निकट विद्यार्थी संगठनहरु क्रमश अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष दिनेश सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी, मकवानपुरका अध्यक्ष मनकुमार न्यौपाने र अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष रोशन ब्लोन द्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्य समक्ष पेश गरेका थिए ।
दुई विद्यार्थी संगठनद्वारा खेद प्रकट 
त्यसैगरी सौहार्दरुपमा छलफलपछि विज्ञप्ति प्रदान गरेर फर्किने क्रममा विप्लब माओवादी निकट विद्यार्थी संगठनले  जिल्ला शिक्षा अधिकारीमाथि अभद्र व्यवहार गरेको बताएको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र निकट र बैद्य माओवादी निकट विद्यार्थी संगठनले जिशिअ माथि अभद्र व्यवहार गर्ने आफ्नो संगठनको कुनै योजना र कार्यक्रम नभएको भन्दै आकस्मिक भएको उक्त घट्नाप्रति दुःख व्यक्त गरेको छ । प्रेस विज्ञप्ति प्रकाशित गर्दै दुबै संगठनका अध्यक्षहरु दिनेश सुवेदी र मनकुमार न्यौपानेले त्यस्तो अमर्यादित कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् ।

Saturday, August 13, 2016

नेकपा माओवादी केन्द्र मकवानपुरको एकता भेला 
संविधान कार्यान्वयनको निम्ति एक ठाउँमा
हेटौडा, २९ साउन
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कार्यन्वयनको निम्ति यसका निम्ति रगत बगाएकाहरु फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको आज एकता भेला सम्पन्न भएको छ ।
केन्द्रका इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका सचिवालय सदस्य सुर्य सुवेदीले पार्टीले अब कार्यकर्ता जनताको घरघरमा पठाउन लागेकोले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । पार्टीका जिल्ला संयोजक प्रेम बहादुर पुलामीले संचालन गर्नुभएको कार्यक्रममा धरमेन्द्र लामाले स्वागत गर्नुभएको थियो । भेलाले १३ सदस्यीय कार्यलय टीम गठन गरिएको छ । भेलाले पूर्व एमाओवादीबाट ३८५, माओवादीबाट १९०, मणि थापाबाट १५, विप्लव माओवादीबाट ११ जना गरी नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कार्यसमिति ६०१ सदस्यीय निर्माण गरिने बताइएको छ । त्यसैगरी १९९ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि निर्माण गरिएको भेलामा जानकारी दिइएको थियो ।


Friday, April 29, 2016

वाइ.सि.एल.को जिल्ला सम्मेलन जेठ ७ मा
हेटौडा । योङ्ग कम्युनिष्ट लिग (वाइ.सि.एल.) नेपाल  मकवानपुरको आज भएको भेलाले जेठ ७ गते भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै जीवन गोलेको संयोजकत्वमा १५१  सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ ।
भेलामा एकीकृत नेकपा (माओवादी) मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी, वाइ.सि.एल. नेपालका केन्द्रीय सदस्य प्रकाश पाण्डे, पार्टीका जिल्ला सचिव सर्केस घलान, सचिवालय सदस्य ललित घलान लगायतकाले मन्तव्य राखेका थिए ।
भेलाले सम्मेलनलाई सफल पार्न ४ वटा उपसमिति निर्माण गरेको छ । जसमा आर्थिक उपसमितिका संयोजक सुमन पाख्रिन, प्रचारप्रसारमा अरुण वल, व्यवस्थापनमा इन्द्र बहादुर थिङ र प्रतिवेदन लेखनमा सर्केस घलानलाई जिम्मेवारी दिइएको वाइसिएल नेकपालका केन्द्रीय सदस्य प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

अनेमसंघ क्रान्तिकारी राईगाउ गाउँमा
हेटौडा । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सदस्य भगवती माझीको सभाध्यक्षतामा सम्पन्न भेलाद्वारा १७ सदस्य गाउँ कमिटी चयन गरेको छ।
जस्मा अध्यक्ष भगवती माझी उपाध्यक्षद्वय शान्ति पहरी ,बातु राई सचिब रमिता दोङ ,सहसचिव एलिना वाईबा,कोषाध्यक्ष शुशिला राई  रहनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि.लक्ष्मी पख्रीन,.केन्द्रीय सदस्य लक्ष्मी माझी एमाओबादी गाउँ कमिटी इन्चार्ज जनक पहरी संगठनकि उपाध्यक्ष सुनिता खड्कालगायतले मन्तव्य राख्नु भयो स्वागत मन्तव्य एलिना वाईबाले राख्नु भएको केन्द्रीय सदस्य लक्ष्मी माझीले जानकारी दिनुभएको छ । त्यसैगरी राईगाउँ गाबिस वार्ड न.४ को वडा भेलाद्वारा भावना पहरीको अध्यक्षतामा १३ सदस्य वडा समिती गठन गरियो ।

जनसाँस्कृतिक महासंघमा अर्यालको नेतृत्व

हेटौंडाः एकीकृत जनसांस्कृतिक महासंघ मकवानपुरको अध्यक्षमा मीना अर्याल चयन भएका छन् । आज बिहीबार हेटौंडामा भएको महासंघको जिल्ला भेलाले अर्यालको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा भोगेन्द्र लुईंटेल, आइपी आचार्य, पविना लामा र सोम भोलोन चयन भएका छन्  । समितिको सचिवमा एस.पी घिमिरे, सहसचिवमा सुनिल बयलकोटी र कोषाध्यक्षमा दिनेश बानियाँ चयन भएका हुन् ।
  एकीकृत जनसांस्कृतिक महासंघ मकवानपुर जिल्ला सम्मेलन आयोजक समितिका संयोजक मीना अर्यालको अध्यक्षतामा जिल्ला भेला सम्पन्न भएको हो । कार्यक्रममा एकीकृत जनसाँस्कृतिक महासंघका ३ नम्बर प्रदेश इञ्चार्ज खुसीराम पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, पार्टीका सचिव सर्केश घलान, कोषाध्यक्ष प्रमिला लामा, साहित्यकार प्रदिप वालाचन, बरिष्ठ पत्रकार कौशल पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच आज बिहिबार नै अखिल नेपाल जनकलाकार संघ जिल्ला समिति पनि गठन भएको छ । पविना लामाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन भएको हो । समितिको उपाध्यक्षमा अश्मिन कुमार थिङ, सचिवमा शारदा सिकारी, सहसचिवमा राजेन्द्र योञ्जन र कोषाध्यक्षमा पुर्ण नेपाली चयन भएका छन् ।