Friday, September 18, 2015

भूकम्पपछि छिमेकीको गोठमा बास 

भैसे । भैसे गाविस वडा न. २ (कालिटार)को ढड्डाघारी मा बसोबास गर्दै आउनुभएकी विना राना उमेर ६३ वर्ष पुग्नुभयो। ९ वर्षमा विवाह भएर एकडेढ वर्षको घरजमपछि माइती आएर बस्नुभयो। २०२९ सालमा बुबाको मृत्युपछि अहिले ९१ वर्षको आमा र ५० बर्षको बहिनीलाई साथ लिएर बाँचिरहनुभएको छ । आफ्नो ५ जना हुनेखाने दाजुभाइ भएपनि आफूहरु ज्याला मजदुरी गरेर छाक टारिरहेको गुनासो उहाँ गर्नुहुन्छ । अलि अलि खेतीपाती भएपनि खेती लगाउन सक्ने मान्छे कोही नहुदा उपचार समेत गर्न नसक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।
बैशाख १२ गते गएको भूकम्पले आफ्नो ८४ वर्ष पुरानो घर चिरा पारेको कारण बस्न नमिल्ने भएपछि छिमेकीको गोठलाई त्रिपालले बारेर बसिरहनुभएको छ । “छिमेकीले रक्सी खाएको निहुँले दिनहुँ निस्केर जा भन्ने गरेको छ, तर कहाँ जानु ।” उहाँले दुखेसो गर्नुभयो।
राहतको नाममा एउटा त्रिपाल पाएको बताउने रानाले २ दिन मजदुरी गर्न गयो भने ३ दिनलाई पु¥याएर खानुपर्ने बाध्यता रहेको बताउनुभयो। आफूले दाजुभाईले दिन नमान्दा–नमान्दै पनि ३ रोपनी जग्गा अंशको रुपमा  लिएको उहाँले त्यो जग्गा पनि सहकारीमा धितो राखेर ऋण लिनुभएको छ। हेटौडा–२मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ५० हजार ऋण लिँदा धितो राखेको १ वर्ष नाघिसकेको र अहिलेसम्म त्यसको व्याजसम्म पनि तिर्न नसक्दा आफूलाई पीर लागेको उहाँ बताउनुहुन्छ । बुढी आमाको उपचार खानेलाउने कुरामा समेत सहयोग नगर्ने छोराहरु करोडपति भएपनि के काम भन्दै आक्रोस पोख्नुहुन्छ विना रानाकी साथी भैसे–७ कि माइलीमाया लामा । उमेर ढल्किसकेका एक आमा र दुईछोरी कतिन्जेल ज्याला मजदुरी गरेर जीवन जिउने हुन थाहा छैन ।

No comments:

Post a Comment